अब शुल्क तिरेर मात्रै पोखरा रङ्गशालामा प्रवेश गर्न पाइने भएको छ ।
जिल्ला खेलकुद विकास समितिको बुधबार बसेको सर्वपक्षीय बैठकले रङ्गशालामा जोसुकै पनि रङ्गशालामा प्रवेश गर्ने र फोहरमैला गर्न थालेकाले प्रवेशका लागि पासको व्यवस्था गर्ने र केही शुल्क लिने निर्णय गरिएको समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान घुमफिर गर्न आउने व्यक्तिका लागि वार्षिक रु ५०० शुल्क र अन्य व्यक्तिका लागि पनि केही निश्चित रकम लिएर मात्रै प्रवेश गराउन बैठकका सहभागीले सुझाव दिएका थिए ।
समितिले रङ्गशालाको गेटमा सुरक्षाकर्मी राख्ने र यात्रु पास लिएर मात्रै रङ्गशाला प्रवेश गर्न पाउने र बाहिर निस्कँदा पास बुझाएर जान सकिने व्यवस्था गरिनेछ ।
सबै खेलाडीलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ । बैठकको अध्यक्षता समितिका अध्यक्ष यमबहादुर गुरुङले गर्नुभएको थियो ।