अल्भारो मोराटाको हृयाट्रिकसँगै रियल मड्रिडले लेगन्समाथि जित हात पारेको छ र, फेरि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार भएको खेलमा रियल मड्रिडले रेलिगेशनबाट बच्न संघर्षरत लेगन्समाथि ४-२ को जित हात पारेको हो । त्यसअघि भएको खेलमा बार्सिलोनाले मेस्सीको दुई गोलको मदतमा सेभियामाथि ३-० को जित निकालेको थियो ।
लेगन्सको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १८औं मिनेटमा जेम्स रोड्रिग्वेजको गोलबाट अग्रता लिएको थियो । तीन मिनेटपछि नै मोराटाले अग्रता दोब्बर पारे । २३ औं मिनेटमा मोराटाले नै दोस्रो गोल गर्दै भ्रमणकारी टोलीलाई ३-० को अग्रता दिलाए ।
तर, घरेलु टोलीले हार मानेन । ३२ औं मिनेटमा परेजले गोल गरे भने ३४ औं मिनेटमा नाभासले गोल गरेपछि पहिलो हाफमा मड्रिडको अग्रता ३-२ मा झर्यो ।तर, दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै मोराटोल गोल गर्दै हृयाट्रिक पूरा गरे । खेलमा थप गोल हुन सकेन र मड्रिड ४-२ ले विजयी भयो ।
जितसँगै पुनः ला लिगाको शीर्ष स्थानमा फर्किएको रियलको २९ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६९ अंक छ र उसले एक खेल बढी खेलेको छ ।
रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले यो खेलमा क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेललाई आराम दिएका थिए ।
पहिलो हाफमा ३-० ले पछि परेर पनि २ गोल फर्कार्उँदै लेगन्सले जिदानको यो निर्णयलाई झण्डै आत्मघाती सावित गराएको थियो । तर, मोराटाको हृयाट्रिक गोलसँगै रियल मड्रिड लगातार छैटौं जित निकाल्न सफल भएको छ ।