एएफसी एसियान कप २०१९ छनोट प्रतियोगिता अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका छन् । दुवै देशले गोलका केही राम्रा अवसर गुमाउँदा खेल बराबरी भएको हो । बराबरीसँगै दुवै देशले एक एक अंक बाँढेका छन् ।
दुवै देशका गोलकिपरहरूले उत्कृष्ट बचाउ गर्दा खेल गोलरहित बराबरी भएको हो । नेपालले धेरै अवसर खेर फालेको थियो । नेपालले गोलपोष्टमा २२ वटा प्रहार गरेको थियो भने यमनले ७ वटा प्रहार गरेको थियो ।
यमनले पनि एउटा निश्चित गोलको अवसर खेल फालेको थियो । यमनको खेलाडी वान भर्सेस वानको अवस्थामा गोल गर्नबाट चुकेका हुन् । यमनका खेलाडीको प्रहारलाई नेपाली गोलरक्षक किरण चेम्जोङले सुन्दर ढंगबाट जोगाएपछि यमन अग्रता लिनबाट चुकेको हो ।
यता, नेपालका खेलाडीहरू भरत खवास, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विशाल राईले पनि केही राम्रा अवसर खेर फाले । यमनको बलियो डिफेन्स लाइनअप तोड्न नेपाली खेलाडीहरू असफल देखिए । मिडफिल्ममा राम्रो प्रदर्शन गरे पनि नेपाल यसपटक पनि फिनिसिङमा चुक्न पुग्यो । मिडफिल्डमा रोहित चन्दले लोभलाग्दो प्रदर्शन गरेका थिए । गोलपोष्टमा उनले गरेको एउटा सशक्त प्रहार यमनका गोलकिपरले राम्रो बचाउ गर्दै बाहिर पठाएका थिए ।
एएफसी एसिया कप २०१९ छनोट प्रतियोगिताअन्तर्गत यो खेल महत्वपूर्ण रहेको छ । सन् २०१९ मा संयुक्त राज्य इमिरेट्मा आयोजना हुने एएफसी एसिया कपको लागि तेस्रो चरणको छनोट प्रतियोगिता हो । छनोटको समूह एफमामा नेपालसहित फिलिपिन्स, ताजकिस्तान र यमन छन् ।
पहिलो चरणको खेलमा फिलिपिन्सले नेपाललाई ४–१ तथा यमनले ताजकिस्तानलाई २–१ ले हराएको थियो । यसअघि एसिया कपमा १६ टोलीबीच प्रतिस्पर्धा हुन्थ्यो । अबदेखि २४ टोलीबचि प्रतिस्पर्धा हुने भएका कारण तेस्रो चरणको छनोट भएको हो ।
एसिया कपमा युएई, कतार, दक्षिण कोरिया, जापान, थाइल्यान्ड, साउदी अरेबिया, अस्ट्रेलिया, उज्वेकिस्तान, इरान, सिरिया, इराक र चीन छनोट भइसकेका छन् । तेस्रो चरणको छनोटबाट बाँकी १२ टोली छनोट हुनेछन् । तेस्रो चरणको छनोट भइरहेको ६ समुहका शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् ।