मंसिर १४ गतेदेखि ‘ए’ डिभिजन लिग फुटबल

मंसिर १४ गतेदेखि  ‘ए’ डिभिजन लिग फुटबल
खेल

विगत तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले लामो समयदेखि आयोजना नभएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय गरेको हो ।

पछिल्लोपटक २०७० सालमा मनाङ मस्र्याग्दी क्लबले जितेयता ‘ए’ डिभिजन लिग आयोजना हुन सकेको छैन । त्यसको २ वर्षपछि नयाँ संरचनाको राष्ट्रिय लिग फुटबल भने आयोजना गरिएको थियो ।

एन्फा बैठकले ललितपूरको थ्री स्टार फुटबल क्लबलाई क्षतिपूर्ति दिने विषयमा सैद्धान्तिक सहमति गरे पनि विस्तृत अध्ययन गर्न एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन गरेको छ ।

कार्यसमितिका सदस्यद्वय गणेश बहादुर चन्द र दिनेश ब्यन्जन्कार सम्मिलित कमिटीले १० दिनमा अध्यक्षसमक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ ।

उक्त प्रतिवेदन कार्यसमितिमा प्रस्तुत भएपछि विशेष साधारण सभामा निर्णयार्थ पेस गरिने बताइएको छ ।

एन्फाले विधान संसोधनका लागि आगामी असोज २३ गते विशेष साधारण सभा गर्ने भएको छ । एन्फा चुनाव भने संशोधित विधान अनुसार आगामी पुस २३ गते हुनेछ ।

Post Comment