१५ वर्षमुनिको साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

१५ वर्षमुनिको साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित
खेल

नेपाल काठमाडौं उपत्यकामा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको समूहको अन्तिम खेलमा भारतसँग २–१ ले पराजित हुँदै नेपाल उपविजेतामा समेटिएको हो ।

मध्यान्तरसम्म एक–एक गोलको बराबरी खेलेको नेपालले मध्यान्तरपछि अर्को गोल खाएको हो ।

२७औं मिनेटमा भारतीय कप्तान विक्रमप्रताप सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाए । नेपालले ४१औं मिनेटमा कप्तान रोशन रानामगरको गोलबाट बराबरी गर्‍यो ।

रोशनले प्रहार गरेको पेनाल्टी बल फर्किएपछि दोस्रोपटकमा गोल गरेका हुन् । मध्यान्तरपछि रोशनले गोल गर्ने केही अवसर खेरफालेका थिए ।

६५औं मिनेटमा भारतका रविबहादुर रानाले गोल गर्दै टिमलाई जिताए ।

तीन टोली सहभागी समूहको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ६–० ले तथा भारतले माल्दिभ्सलाई ९–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा ठाउँ बनाएको थियो । यो खेलपछि सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

सेमिफाइनलमा नेपालको भिडन्त अर्को समूहको विजेता बंगलादेशसँग हुनेछ भने भारतको भिडन्त भुटानसँग हुनेछ ।

Post Comment