विश्वकप छनौट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिना पेरुसँग गोलरहित बराबरीमा रोकिएको छ । यो बराबरीसँगै अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा सिधै छनौट हुने अर्जेन्टिनाको सम्भावना कमजोर बनेको छ ।
लिओनल मेस्सी, एन्जल डी मारिया, पाउलो डिबाला जस्ता स्टार खेलाडी भएर पनि अर्जेन्टिनाले जित हात पार्न सकेन । यो खेलसँगै अर्जेन्टिना समूहमा छैटौ स्थानमा झरेको छ । विश्वकप छनौट अन्तर्गत दक्षिण अमेरिकी समूहको अन्तिम खेलमा अर्जेन्टिनाले ईक्वेडरको सामना गर्नेछ । ईक्वेडरमा हुने उक्त खेल जितेको खण्डमा अर्जेन्टिना सिधै विश्वकपमा छानिने छ ।
शुक्रबार बिहान भएका अन्य खेलहरुमा चिली र पाराग्वे बिजयी भएका छन् । चिलीले इक्वेडर तथा पाराग्वेले कोलम्बियालाई समान २–१ गोल अन्तरले पराजित गरेका हुन् ।
जितसँगै चिली समूहको तेस्रो स्थानमा उक्लेको छ । उसले सिधै छनौट हुने सम्भावना बलियो पारेको छ । हारसँगै चौथो स्थानमा झरेको कोलम्बियाको पनि सिधै विश्वकपमा छानिने सम्भावना जीवित छ ।
समूहको पहिलो स्थानमा ब्राजिल र दोस्रोमा उरुग्वे यथावत छन् । समूहमा शीर्ष चारमा पर्ने टिम विश्वकपका लागि सिधै छनौट हुनेछन् भने पाचौ स्थानमा पर्नेले प्लेअफ् खेल्नुपर्नेछ ।