यौन दुर्व्यवहार प्रकरण:अमेरिकी जिम्न्यास्टिक बोर्डका सबैले राजीनामा दिने

यौन दुर्व्यवहार प्रकरण:अमेरिकी जिम्न्यास्टिक बोर्डका सबैले राजीनामा दिने
खेल

ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटिले कारबाही गर्ने तयारी गरेपछि संयुक्त राज्य अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने निर्णय गरेका छन्।

जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १ सय ७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीहरूलाई राजीनामा दिन ‘अल्टिमेटम’ दिएको थियो।

ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले या त बोर्ड भंग गरिनुपर्ने वा उसले खेलकुद निकायको मान्यता गुमाउने चेतावनी दिएको थियो।

उसले बोर्डलाई नयाँ जीवन दिन बुँदागत रुपमा नयाँ सुधारका कदम नचालेसम्म उक्त राष्ट्रिय खेलकुद निकायले जिम्न्यास्टिक सञ्चालन गर्ने अधिकार गुमाउने पनि उल्लेख गरेको थियो।

यसै हप्ताको शुरुमा पूर्व ओलिम्पिक जिम्न्यास्टिक चिकित्सक नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्वयहार गरेको आरोपमा १ सय ७५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो।

सो सजाय सुनाइनुअघि अदालतमा १ सय ५० जना भन्दा बढीले एकदमै भावावेगपूर्ण बयान अदालतसमक्ष दिएका थिए।

१८ सदस्यीय अमेरिकी जिम्न्यास्टिक बोर्डका ५ जनाले राजीनामा दिइसकेका छन्।

Post Comment