आइपीएलमा नेपाली खेलाडी सन्दिप लामिछाने

आइपीएलमा नेपाली खेलाडी सन्दिप लामिछाने
खेल

विश्व क्रिकेटमा ठूलो व्यवसायिक प्रतियोगिता मानिने इन्डियन प्रिमियर लिग आइपीएलमा नेपाली खेलाडी सन्दिप लामिछाने छानिएका छन्।

निकै ठूलो लगानी रहेको र विश्व क्रिकेटमा सबैभन्दा बढी दर्शकले हेर्ने भनिएको सो प्रतियोगितामा नेपाली खेलाडी पहिलो पटक छानिएका हुन्।

प्रतियोगिताको ११ औं संस्करणको आइतवार भारतको बैंग्लोरमा भएको खेलाडी लिलामीमा लामिछानेका लागि राखिएको न्यूनतम मूल्य २० लाख भारुमा दिल्ली डेयरडेभिल्स क्लबले उनलाई लिएको हो।

लामिछानेलाई टोलीमा समावेश गर्न पाएकोमा खुशी व्यक्त गर्दै दिल्ली डेयरडेभिल्सले ट्वीटमा भनेको छ – “पहिलो नेपाली खेलाडीको रुपमा इतिहास रचेका १७ वर्षिय युवा लेग स्पिनरलाई क्लबमा स्वागत गर्न पाउँदा हामीलाई खुशी लागेको छ।”

नवलपरासीको रजहर घर भएका लामिछाने नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायकले प्रतिभाशाली खेलाडी खोजी ‘ट्यालेन्ट हन्ट’बाट रोजेका खेलाडी हुन्।

लेग स्पिनर लामिछानेको ‘लेगब्रेक गुगली’ शैली उनको विशेषता मानिन्छ ।

भिन्न-भिन्न तरिकाले बल फाल्न सक्ने उनको क्षमताका कारण सानै उमेरमा उनले नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

Post Comment