अमेरिका विन्टर ओलम्पिकको फाइनलमा

अमेरिका विन्टर ओलम्पिकको फाइनलमा
खेल

अमेरिकी महिला आइस हकी टोली दक्षिण कोरियाको प्योङच्याङमा जारी २३ औं विन्टर ओलम्पिकको फाइनलमा पुगेको छ ।

उपाधिका लागि अमेरिकाले आउँदो बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विन्टर ओलम्पिकमा अमेरिका २० वर्षपछि पहिलो उपाधि जित्ने लक्ष्यमा छ ।

सेमिफाइनलमा अमेरिकाले फिनल्याण्डलाई ५–० ले पराजित गर्दा क्यानडाले पनि ओलम्पिकको झण्डामा खेलिरहेको रुसको टोलीलाई समान नतिजाले हराएको थियो ।

उत्तर अमेरिकी छिमेकी मुलुकबीच यो लगातार चौथो फाइनल हो । यसअघिका तीनै भेटमा क्यानडा हावी हुँदै आएको छ । सन् १९९० देखि सुरु भएको यो खेलमा क्यानडा र अमेरिका नै प्रतिस्पर्धी बन्दै आएका छन् । यो खेलबाट क्यानडा आफ्नो पाँचौं जित निकाल्ने प्रयास गरिरहेको छ भने अमेरिका पहिलाका तीनवटा फाइनल खेलभन्दा राम्रो नतिजा निकाल्ने तयारीमा जुटेको छ ।

‘हामी विश्वस्त छौं’, अमेरिकी खेलाडी फरवार्ड हिलारी नाइटले भनिन्, ‘वास्तवमै अब सपना पूरा हुँदैछ । यो विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता हो र हामीले यसैका लागि धेरै मिहिनेत गरेका थियौं ।’

महिला आइस हकीको सुपर पावर क्यानडालाई हराउनु अमेरिकी टोलीका लागि सहज भने हुने छैन । क्यानडा लगातार पाँचौं पटक ओलम्पिक च्याम्पियन बन्ने लक्ष्यमा छ । यसअघिका तीन फाइनलमा त उसले अमेरिकालाई नै हराएको छ । चार वर्षअघिको सोची ओलम्पिकमा पनि अमेरिका पराजित भएको थियो ।

Post Comment