रुस विश्वकपको अवधिमा नाइजेरियाले आफ्ना खेलाडीलाई रुसी महिलासँग समय बिताउन र प्रेमिका बनाउन प्रतिबन्ध लगाएको छ ।
नाइजेरियाका प्रशिक्षक गर्नोट रोहरले आफ्ना खेलाडीलाई आफ्नो परिवार बाकेक अन्यसँग भेट्न प्रतिबन्ध लगाइएको जनाएका छन् ।
उनले खेलाडीलाई श्रीमती र परिवारका सदस्यसँग पनि टोलीको अभ्यास र खेल नरहेको समयमा मात्र भेट्न छुट दिएका छन् । उनले खेलाडीले दिनको समयमा मात्रै आफ्ना परिवारका सदस्यलाई भेट्न पाउने बताएका छन् ।
‘हो, खेलाडीले श्रीमती र परिवारसँग भेट्न सक्छन् तर उनीहरूलाई टोलीको अभ्यास वा खेल नभएको दिन मात्रै भेट्न अनुमति दिएको छु’, प्रशिक्षक रोहरले भनेका छन्, ‘यद्यपि म उनीहरूलाई रुसी महिलाहरूसँग समय बिताउन र प्रेमिका बनाउन अनुमति दिन सक्दिनँ ।’
नाइजेरियाका कप्तान मिकेलकी श्रीमती भने रुसी नागरिक नै हुन् । प्रशिक्षक रोहरले कप्तान मिकेललाई उनको रुसी श्रीमतीसँग भेट्न छुट दिइएको बताए ।
विश्वकप फुटबलका क्रममा सहभागी टोलीहरूले आफ्ना खेलाडीका बारेमा यस्ता विभिन्न नियम बनाउने गरेका छन् ।यसअघि अर्जेन्टिनाको फुटबल संघले रुस विश्वकपमा रुसी महिलासँग प्रेम गर्ने तरिकासहितको पुस्तिका छापेको थियो ।
आफ्ना खेलाडी, पदाधिकारी र मिडियालाई बाँडेको सो पुस्तिकामा अर्जेन्टिनी फुटबल संघले रुसी महिलालाई प्रेममा पार्न सधैं सकारात्मक रहनु, फोहोरी र बोरिङ नबन्नु लगायतका सुझाव दिएको थियो ।