यो एकदमै थौरै मानिसले परिकल्पना गरेको विश्वकपको फाइनल हो।
आइतवार हुने विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ।
क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो।
तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्षअघि प्यारिसमा प्राप्त सफलता दोहोर्याउन चाहेको छ।
फ्रान्सलाई नेतृत्व दिइरहेका डिडे डेसाँले तेस्रो ठूलो प्रतियोगितामा टोलीको जिम्मेवारी वहन गरिरहेका छन् र उनी खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बन्ने दाउमा छन्।
उनका समकक्षी ज्लाट्को डालिक जम्मा नौ महिनादेखि क्रोएसियाली टोलीका व्यवस्थापक छन्।
उनी विश्व फुटबलको सबैभन्दा ठूलो सफलताबाट मात्रै ९० मिनेटको दूरीमा छन्।
र, त्यसो भयो भने त्यो विश्वकप इतिहासकै सबैभन्दा अविश्वसनीय जित हुनेछ।
क्रोएसिया: ‘सपना, सपना, सपना’
४१ लाख ७० हजार जनसंख्या रहेको क्रोएसिया विश्वकप फुटबलको फाइनलमा पुग्ने सबैभन्दा सानो देश हो भन्ने तपाईँलाई लाग्नसक्छ। तर त्यो कीर्तिमान युरुग्वेले राखेको छ।
सन् १९३० मा विश्वकपको उपाधि जित्दा युरुग्वेको जनसंख्या लगभग १७ लाख थियो।
फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको डालिक नेतृत्वको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो।
विश्वकपको फाइनलमा पुग्ने १३ देशमध्ये एक क्रोएसिया हो। अहिलेसम्म फुटबलमा पाएको यो उनीहरूको सबैभन्दा ठूलो सफलता हो।
२० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए। तर त्यसबेला पनि उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए।
यसपटक उनीहरूको फाइनलसम्मको यात्राले इङ्ग्ल्याण्डको सपना समाप्त पारिदियो। साथै त्यसले जाग्रेब र अन्यन्त्र व्यापक हर्षबढाइँ गरिएको थियो।
हजारौँ समर्थकले चोकमा आएर नाचगान गर्नुका साथै रातो, सेतो र निलो बुट्टा भएको झण्डा र पताका फहराएका थिए।
“सपना, सपना, सपना! क्रोएसिया अब विश्वकपको फाइनलमा पुगको छ,” स्पोर्ट्सकी नोभोस्ती समाचारपत्रले लेखेको छ, सन् १९९८ को भन्दा ठूलो उपलब्धितर्फ डोर्याएर डालिकले आफूलाई ‘दन्त्यकथाको नायक’ जस्तो स्थानमा पुर्याएका छन्।
“हाम्रो तेजिलो टोली फाइनलमा पुगेको छ, हामी सपनामा छौँ र अब एक पाइलामात्रै अघि बढ्यौँ भने पनि उपाधि उचाल्नेछौँ,” युटार्नयी लिष्टले लेखेको छ।
फ्रान्स स्वदेशमै भएको युरोपेली च्याम्पियनशीपको फाइनलमा पुगेको थियो र उत्कृष्ट टोली भनिएको भए पनि त्यसबेला पोर्चुगलबाट पराजित भएको थियो।
त्यसबेलाको पराजयको सम्झनाले अहिले राष्ट्रिय टोलीलाई थप बलियो बनाइरहेको छ।
सुड ओएस्ट अखबारले आइतवार दुई वर्षको घाउ निको पार्ने अवसर भएको उल्लेख गरेको छ।