पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ।
प्रतियोगिता सुरु हुनु एक दिनअघि पोखराको फेवाताल किनारमा सहभागी ६ टिमका मार्की प्लेअरले ट्रफी सार्वजनिक गरे।
गोलाकार ट्रफी जर्मन फुटबल लिग ‘बुण्डेसलिगा’ को विजेताले पाउने जस्तै छ।
क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा पहिलो पटक हुन लागेको पीपीएल भोलीदेखि कात्तिक २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा भोली विराटनगर टाइटन्स र पोखरा पल्टनबीच खेल हुनेछ।
विराटनगर र पोखरासहित काठमाडौँ रोएल्स, चितवन राइनोज, बुटबल ब्लास्टर्स र धनगढी ब्लुजले प्रतियोगितामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
विजेताले ट्रफीसँगै नगद २७ लाख पुरस्कार हात पार्नेछन्। यो नेपाली घरेलु क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार राशी हो। यसअघि धनगढी प्रिमियर लिगको विजेतालाई नगद २५ लाख प्रदान गरिएको थियो।
पर्यटकिय नगरी पोखरामा हुन लागेको पीपीएललाई आइसीसीले समेत मान्यता दिइसकेको छ। नेपालमा आयोजना हुन लागेको यो तेस्रो टी-२० फ्रेन्चाइज लिग हो। यसअघि फ्रेन्चाइज शैलीमै दुई वटा लिग एभरेष्ट (इपीएल) प्रिमियर लिग र धनगढी प्रिमियर लिग (डीपीएल) आयोजना भइसकेको छ।
पीपीएलमा सहभागी प्रत्येक टोलीले दुई विदेशी खेलाडी राख्न पाउनेछन्। यस्तै दुई ‘लोकल आइकल प्लेअर’सहित एक टिमले १८ जनासम्म खेलाडी टिममा राख्न पाउनेछन्।