स्पेनी फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा साबिक विजेता बार्सिलोना र रियल मिड्रडले एक–एक गोलको बराबरी खेलेका छन् ।
नेपाली समयअनुसार बिहीबार बिहान भएको सेमिफाइनलको पहिलो लेगको खेलमा बार्सिलोना आफ्नै घरेलु मैदान नोउक्याम्पमा १–१ को बराबरीमा रोकिएको हो ।
कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीलाई बेन्चमा राखेर घरेलु मैदान उत्रेको बार्सिलोनाले खेल शुरु भएको ६ मिनेटमै गोल खाएको थियो ।
रियललाई आग्रता दिलाउनका लागि लुकास भासक्वेजले गोल गरेका थिए । उनले भिनिसियस जुनियरले क्रस गरेको बललाई करिम बेन्जेमाले उपलब्ध गराएको पासमा गोल गरेका थिए ।
एक गोलले पछि परेको बार्सिलोनाले गोल गर्ने प्रयास गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नु पर्यो । खेलको ५७औं मिनेटमा माल्कोमले गोल गरेर खेल बराबरी गर्न सफल भयो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् ।
खेलको ६३औं मिनेटमा बार्सिलोनाका कप्तान मेस्सी फिलिप कोउटिन्होको स्थानमा मैदानमा प्रवेश गरेपछि बार्सिलोनाले रियल वरुद्ध केही दबाब बनाए पनि गोल गर्न सकेन ।
अब सेमिफाइनलको दोस्रो लेगको खेल फेब्रुअरी २८ तारिखमा रियलको घरेलु मैदानमा हुनेछ । यो बराबरीले दुवै टिमलाई फाइनलमा पुग्न ढोका खुल्ला नै रहेको छ ।
२७ फेब्रुअरीमा हुने खेलमा रियलले बार्सिलोनालाई रोक्न सके अघिल्लो चरणमा प्रवेश गर्ने छ भने, बार्सिलोनालाई अघिल्लो चरणमा प्रवेश गर्न निश्चित जितको आवश्यक छ ।