सुपर ओभरमा कोलकाताविरुद्ध दिल्लीको सनसनीपूर्ण जित

सुपर ओभरमा कोलकाताविरुद्ध दिल्लीको सनसनीपूर्ण जित
खेल

आईपीएलको १२औँ संस्करणमा दक्षिण अफ्रिकी युवा बलर कागिसो राबाडाले शानदार बलिङ गरेपछि घरेलु समर्थकलाई खुशी तुल्याउँदै दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

निर्धारित २० ओभरमा दुवै टिमले समान १ सय ८५ रनको स्कोर बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले एक विकेट गुमाएर १० रन बनाएको थियो । ११ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले ७ रनमात्र बनाउन सक्यो ।

राबाडाको पहिलो बलमै चौका प्रहार गरेका आन्द्रे रसेलले त्यसपछिको बलमा रन बनाउन सकेनन् र तेस्रो बलमा क्लिन बोल्ड भए । बाँकी तीन बलमा राबाडाले ३ रनमात्र दिए ।

दिल्लीको फिरोज शाह कोट्ला मैदानमा १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले ६ विकेटको क्षतिमा १ सय ८५ रनमात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको हो ।

दिल्लीका १९ वर्षीय ब्याट्सम्यान पृथ्वी शले आईपीएलमा पहिलो शतक बनाउन एक रनले चुके । उनले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गरी ९९ रनमा आउट भए । शतक बनाउने उत्कृष्ट अवसरमा खराब शट खेल्न पुग्दा उनी आउट भए ।

दिल्लीका लागि कप्तान श्रेयश अय्यरले पनि ३२ बलमा ४३ रन बनाए । शिखर धवनले १६ र ऋषभ पन्तले ११ रन बनाए ।

अन्तिम ओभरमा दिल्लीलाई ६ बलमा ६ रन आवश्यक थियो । हनुमा बिहारी र कोलिन इन्ग्रामलाई कोलकाताका कुलदीप यादवले रोक्न सफल भए । पाँचौँ बलमा कुलदीप आउट हुँदा दिल्लीलाई जितका लागि २ रन आवश्यक थियो । तर, इन्ग्रामले एक रनमात्र लिन सके र खेल बराबरी बराबरी भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

सुरुवाति ५ विकेट सस्तैमा गुमाए पनि दिनेश कार्तिक र आन्द्रे रसेलले छैटौं विकेटका लागि ९५ रनको साझेदारी गरेपछि कोलकाताले सम्मानित योगफल बनाएको हो ।

Post Comment