सन्दीप लामिछाने समावेश टिम दिल्ली क्यापिटल्सले सातौँ जित निकालेको छ ।
सोमबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ६ विकेटले हरायो । जितसँगै दिल्लीले चेन्नई सुपर किंग्ससँग अंक बराबरी गर्दै लिगकाे शीर्ष स्थानमा पुगेकाे छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनायो ।
उसका लागि अजिन्क्या राहाणेले अविजित शतक प्रहार गरे । उनले ६३ बलमा अविजित एक सय ५ रन बनाए । जसमा ११ चौका र तीन छक्का सामेल थियो । यस्तै कप्तान स्टिभ स्मिथले ५० र स्टुवार्ट विन्नीले १९ रनको योगदान गरे ।
५ रनमा पहिलो विकेट गुमाएको राजस्थानका लागि दोस्रो विकेटका रुपमा राहाणे र स्थिमले एक सय ३० रनको साझेदारी गरेका थिए । जसका कारण उसको पारी सम्हालिएको थियो ।
जवाफमा दिल्लीले १९ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । दिल्लीको जितमा रिशव पन्तले अविजित ७८ रन बनाए । यस्तै शिखर धवनले ५४ रन बनाए भने पृथ्वी शा ले ४२ रनको योगदान गरे ।