दिल्लीलाई पराजित गर्दै चेन्नई आईपीएलको फाइनलमा

दिल्लीलाई पराजित गर्दै चेन्नई आईपीएलको फाइनलमा
खेल

नेपाली खेलाडी सन्दिप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको हो । चेन्नइले अब उपाधिका लागि मुम्बइ इन्डियन्ससँग खेल्ने छ ।

पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको हो ।

ओपनर फाफ डु प्लेसिस र सेन वाट्सनले अर्धशतक बनाउँदै चेन्नेईको विजयी आधार तय गरेका थिए । सुरेश रैना ११ रन बनाएर आउट भएका थिए ।

यसअघि, विशाखापटनममा चेन्नेईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नुबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

ओपनर पृथ्वी शा ५ र शिखर धवन ८ रनका आउट भएका थिए । कप्तान श्रेयश अयर १३ रनमा पविलियन फर्किएका थिए ।

चेन्नईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २÷२ विकेट हात पारे ।

Post Comment