फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिलियन सुपरस्टार नेइमार बार्सिलोना फर्किएका छन् । 90मिन डट कमको अनुसार उनले पाँच वर्षका लागि बार्सिलाेनासँग सम्झौता गरेका हुन् ।
स्पेनिस मिडिया स्पोर्टका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टामेउ र नेयमारबीच सम्झौता भइसकेको जनाएको छ । सन् २०१७ मा उनी विश्व किर्तिमानी रकम १९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पिएसजी गएका थिए ।
केही दिनअघि बार्सिलोना फर्किने वातावरण बनाउन नेइमारले बार्सिलोनाका पदाधिकारीसँग छलफल गर्न वार्ता टोली खटाएका थिए । टोलीले बार्सिलोनाका पदाधिकारीसँग छलफल समेत चलाएका थिए । उक्त छलफलमा ‘गोप्य सहमति’ भएको स्पोर्टले जनाएकाे छ ।
च्याम्पियन्स लिग र बालो डिओर लक्ष्य बनाएर पिएसजी गएका उनी पछिल्लो समय निराश थिए ।
पीएसजीमा नेइमार खुसी हुन नसकेको खबर बेलाबेलामा आइरहेको थियो । सोही कारण ५० प्रतिशत तलब कम गरेर बार्सिलोना फर्कने भएका हुन् । नेइमारलाई बार्सिलोना फर्काउन कप्तान लिओनल मेस्सीले विशेष भूमिका खेलेको बताइन्छ ।
क्लब फुटबल सकिएपछि कोपा अमेरिका खेल्न राष्ट्रिय टोलीमा फर्किएका नेइमार चोटग्रस्त भएर अहिले टोलीबाहिर रहेर आराम गरिरहेका छन् ।