आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलबाट भारत बाहिरिएपछि उसको विश्वकप जित्ने सपना सकिएको थियो । विश्वकपको उपाधि इंग्ल्याण्डले जितिसकेको छ ।
विश्वकपलगत्तै अब भारतले वेस्ट इण्डिजविरुद्धको सिरिज खेल्दैछ । सिरिज अगाडि विराट कोहलीको कप्तानी पद धरापमा पर्ने आकलन गरिएको छ भने महेन्द्रसिंंह धोनी टिममा नपर्ने सम्भावना रहेको खबर भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
यस्तैमा प्रशिक्षक रवि शास्त्रीको कार्यकाल नलम्बाउने पक्षमा बीसीसीआई रहेको बुझिएकाे छ ।
बीसीसीआईले नयाँ प्रक्रियाबाट प्रशिक्षक चयन गर्ने तयारी गरेपछि अब रवि शास्त्रीले पनि फेरि प्रशिक्षक हुन चाहेमा आवेदन दिनुपर्ने छ । विश्वकपपछि शास्त्रीको ४५ दिन कार्यकाल थप गर्ने पहिला घोषणा गरिएको थियो । त्यसैका आधारमा शास्त्री वेस्ट इण्डिज सिरिजसम्म रहने छन् ।
अहिले बीसीसीआईले ब्याटिङ, बलिङ र फिल्डिङ कोचका लागि आवेदन माग गरे पनि उनीहरुको कार्यकाल पनि ४५ दिन थप गरिएको छ । त्यसपछि सबै नयाँ प्रक्रियाबाट शुरु हुने बीसीसीआईका अधिकारीले बताएका छन् ।