सिंगापुरमा जारी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलअन्तर्गत कतारसँगको पहिलो खेलमा हार व्यहोरेसँगै नेपाली क्रिकेट टोलीका लागि यो प्रतियोगिता चुनौतीपूर्ण बनेको छ । प्रतियोगितामा सहभागीमध्ये तुलनात्मक रुपमा बलियो मानिएको नेपालले शुरुवातमै राम्रो प्रदर्शन गर्न सकेन ।
कतारसँग एकदिवसीय मान्यता प्राप्त टोलीको अप्रत्यासित नतिजाले नेपाली क्रिकेट खेलाडी र क्रिकेट समर्थकको मनोबल कमजोर बनाइदिएको छ । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा आउँदा नेपालका लागि केही नयाँ परीक्षण थियो । उनीहरु यसअघि पनि ओपनिङमा आइरहेका थिए, तर कप्तान र उपकप्तानलाई ओपनगरका रुपमा यसअघि एकैसाथ देख्न पाइएको थिएन ।
दुवैजनाको साझेदारीका हिसावले ‘परीक्षण’ सफल भएपनि सम्पूर्ण टिमका लागि भने त्यसले राम्रो नतिजा दिन सकेन । यसअघि नेपालले खेलेका टी–२० फर्म्याटका अन्तर्राष्ट्रियमा प्रतियोगिताको ओपनिङमा राम्रो साझेदारी देख्न पाइएको थिइन । त्यसैले त खड्का र मल्लले बनाएको ४९ रनले किर्तीमान सुधार गर्यो । यसअघि २०१४ मा सुवास खकुरेल र सागर पुनको जोडीले ३६ रनको साझेदारी पारी खेलेको थियो ।
मंगलबार कतारविरुद्धको खेलमा कप्तान खड्का २८ रन बनाएर आउट भएपछि लगत्तै उपकप्तान मल्ल पनि खड्कालाई पछ्याउँदै पवेलियन फर्किए । उनले २३ रन बनाएका थिए ।
मल्ल र खड्काको साझेदारी टुटेपछि नेपालले अन्य राम्रो साझेदारी जोड्नै सकेन । तर, मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले सम्हालियर खेल्दै सर्वाधिक ३४ रन बनाए । अनुभवी र युवा खेलाडीको मिश्रण रहेको नेपाली टोलीलाई कतारले दिएको चुनौती आश्चर्यजनक हो ।
जुनसुकै अवस्थामा पनि कतारभन्दा नेपाली टोली बलियो हो । यद्यपि मंगलबारको ३ घण्टाको खेलले नेपाललाई कतारसामू कमजोर साबित गरेको छ । विश्वकप छनोटका लागि मलेसिया जानु अघि कप्तान खड्काले खुलेर भनेका थिए, ‘टी–२० मा कुनै टोली बलियो भन्ने नै हुँदैन । यसमा खेलको दिन जसले राम्रो खेल्छ, त्यहि टोली बलियो हो ।’
अस्ट्रेलियामा २०२० मा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्ने लक्ष्यसहित सिंगापुर पुगेको नेपाली टोली पहिलो खेलमा पराजित हुँदा टोलीमाथि नै शंका उत्पन्न भएको छ । एसिया फाइनलको शिर्ष टोली ग्लोबल क्वालिफायरमा पुग्ने भएकाले पनि विश्वकप खेल्न यो प्रतियोगिता जित्नै पर्ने दबाव सहभागी टोलीहरुमा छ ।
पहिलो खेलमा हार व्यहोरेसँगै छनोटका अन्य तीन खेलमा नेपाल जुनसुकै अवस्थामा जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । ब्याटिङ र बलिङमा अलिकति जोड दिन सके अन्य टोलीहरुलाई पराजित गर्न नेपाल सक्षम पनि छ । अब नेपालले बुधबार मलेसियासँग र शनिबार कुवेत र आइतबार घरेलु टोली सिंगापुरसँग खेल्नेछ ।