इङ्गलिस फुटबल क्लब म्यान्चेस्टर सिटीलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जरिवाना गरेको छ ।
युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क जरिवाना तोकेको हो ।
युवा खेलाडी अनुबन्धको नियम उलंघन गरेपनि प्रिमियर लिग विजेता सिटी प्रतिबन्धबाट भने जोगिएको छ ।
यसअघि यस्तै कसुरमा अर्को इंग्लीश क्लब चेल्सीलाई भने दुई ट्रान्सफर विन्डोमा खेलाडी किन्न प्रतिबन्ध लगाईएको थियो ।
म्यान सिटीले युवा खेलाडी किन्दा फिफाको नियम भुलवश मिचिएको स्विकार गरेपछि उसलाई दिने सजाय घटाईएको हो ।
सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम उलंघन गरेको फिफाले जनाएको छ ।
अन्तराष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ ।