सन्दीप लामिछाने १४ दिन क्वरेण्टीनमा

सन्दीप लामिछाने १४ दिन क्वरेण्टीनमा
खेल

युएस नेपाल न्युज, काठमाण्डाै । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिने क्वरेण्टीनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वरेण्टीनमा राखिएको हो ।

सीपीएल आउँदाे भदौ २ गतेदेखि सुरु हुँदैछ । ‘प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वरेण्टीन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वरेण्टीनमा बस्नु परेको हो’, सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले भने। यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्ने शिवाकाेटीले बताए । ‘पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ’, उनले भने ।

सन्दीप कोरियन एअरको चार्टर्ड जहाजमार्फत गएकाे बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो गएका हुन् । सरकार र अन्य विभिन्न निकायको सहयोगमा उनी टोबागो जान सफल भएका हुन् । टोबागो उड्नुअघि सन्दीपले गएकाे मङ्गलबार पीसीआर परीक्षण गराएका थिए । उनकाे सानेपामा रहेकाे स्टार हस्पिटलमा स्वाब परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएपछि मात्र टोबागो उड्न सहज भएको व्यवस्थापक शिवाकोटीले बताउनुभयो । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आउँदाे भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेका कारण केही समय सन्दीपले सीपीएल खेल्नेबारे अन्योल भएको थियो ।

सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका हुन् । उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो । उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सबाट सीपीएल खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । त्याे प्रतियोगितामा सन्दीपले पाँच खेलमा सात विकेट लिएका थिए ।

यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए । उनले गएकाे वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए । सन्दीले त्याे प्रतियोगितामा ६ खेलमा आठ विकेट लिएका थिए । यस पटक सन्दीपको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन् । उनी आबद्ध जमैका तलावाजले आउँदाे भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ ।

सीपीएलका लागि विश्वका २३ देशका पाँच सय ३७ खेलाडीले नाम दर्ता गराएका थिए । सीपीएलमा जमैकासँगै बार्बाडोस ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सीपीएलमा कुल ३३ खेल हुने छन् भने कारोना भाइरसका कारण ती सबै खेल विना दर्शक खेलाइने आयोजकले जनाएको छ । सीपीएल आउँदाे भदौ २५ गतेसम्म चल्ने छ ।

सन्दीप टोबागोबाट सोझै इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न असोज दोस्रो साता युनाइटेड अरब इमिरेटस् जाने छन् । यस पटक १३ औँ संस्करणको आईपीएल आउँदाे सेप्टेम्बरदेखि यूएईमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण यस पटक आईपीएल भारतमा आयोजना गर्न नसकिएको हो ।

आईपीएल युएईमा आयोजना गर्न भारत सरकारले आयोजकलाई आइतबार अनुमति दिएपछि याे प्रतियोगिता हुने पक्का भएको हो । सन्दीपले आईपीएल दिल्ली क्यापिटल्सबाट खेल्नुे छन् । उनले आईपीएल खेल्न लागेको याे तेस्रो पटक हो । यसअघिका दुई संस्करण पनि उनले दिल्ली टोलीबाटै खेलेका थिए ।

Post Comment