कोलोराडोवासी नेपालीभाषी सामाजिक संघ संस्थाहरुको आर्थिक र भौतिक योगदानबाट निर्माणाधीन नेपाली सांस्कृतिक केन्द्रलाइ व्यवस्थितरूपमा संचालनगर्न सामुदायिक सहकार्य परिषद गठन गरिएको छ ।
नेपालीभाषी समुदाय र सामाजिक संघ संस्था बीच समन्वय संगसंगै कार्यगत एकताबाट निर्माण भैरहको नेपाली सांस्कृतिक केन्द्र ( नेपाली घर) लाइ सामुहिक प्रयत्नबाट संचालनका लागी सामुदायिक सहकार्य परिषद गठन गरिएको हो ।
नेपालीभाषा संस्कृतिको जगेर्नागर्दै पुस्तान्तरण गर्न, नेपाली समाजलाई अमेरिकी प्रणालीसँग परिचित गराउंदै मूल अमेरिकी समाजमा चिनाउन, विविध चाडपर्व कार्यक्रमहरू संचालन गर्न स्थापित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) सबैको साझा सम्पत्ती हो । यसप्रति नेपाली समुदायको अपनत्वको भाबना जागृत गराउदै वित्तीय रूपमा समेत दीगो तरिकाले संचालन गर्नुपर्ने वास्तविकतालाइ आत्मासाथ गर्दै नेपालीभाषी समुदाय संगको पटक पटकको अन्तरकृया र सुझावलाइ मनन गरी नेपाली घरको संशोधित विधानको दफा ८ बमोजिम सामुदायिक सहकार्य सल्लाहाकार परिषद गठन गरिएको हो ।
परिषदमा नेपाली सांस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक सहयोग गरेका दाताहरु, विविध पेशा र व्यवसायमा संलग्न व्यक्तिहरू, स्थानीय विषय विज्ञ तथा बुद्धिजीवीहरू र औपचारिक एवं सकृय रुपमा कोलोराडोमा सेवारत गैरनाफामूलक सामाजिक संघसंस्थाहरूको सहभागिता रहने प्राबधान छ । सोही अनुसार व्यापक प्रतिनिधित्व हुनेगरी एकै पटकमा परिषद गठनगर्न व्यावहारिक र समयको कारणले कठिनाई परेकाले परिषद पूर्णताको कार्यलाई क्रमिक र चरणबद्ध रूपमा संपन्न गर्ने गरि प्रथम चरणमा समाजसेवी डा. विजयराज शर्माको संयोजकत्वमा कोर समुह गठन गरिएको हो ।
यसरी गठित कोर समुहका अन्य सदस्यहरूमा सामाजिक अभियान्ताहरू रामप्रसाद श्रेष्ठ, नारायण श्रेष्ठ, नवीन दत्त, डा. संगीता श्रोत्रिय , पदम विश्वकर्मा, पुरुषोत्तम पाण्डे, मणी दहाल , रोहिणीकुमार शर्मा, टीका सिटौला, सुनिल पाठक , दिनेश भट्टराई , डा. आनन्द पौडेल ,योगराज गौतम, लछुमन राना र जगदिशचन्द्र ढकाल सदस्य सचिब रहेको सामुदायिक सहकार्य परिषद कोर समूह गठन गरिएको नेपाली घरका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।