दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं - मंगलबार बिहान दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

भक्तपुरमा बस दुर्घटना

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ स्थित इटभु चोकमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बस दुर्घटनामा परी मृत्यु हुने व्यक्ति भक्तपुर नगरपालिका-४ मंगलाछेँ घर भई भक्तपुर आदर्श बस्ने ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठ रहेकी छिन्। ठक्करबाट गम्भीर घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

रौतहटमा मोटरसाइकल दुर्घटना

रौतहटको फतुवा बिजयपुर नगरपालिका-८ बिजयपुर टोलस्थित सडकमा ना.२५ प ५१७९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार राति भएको उक्त दुर्घटनामा सोही ठाउँ बस्ने ६७ वर्षीया रबली देवी थारूनी गम्भीर घाइते भएकी थिइन्। उनको एलएस न्यूरो अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

यस दुर्घटनामा मोटरसाइकल चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया