काठमाडौँ - माओवादी केन्द्रका नेता तथा सांसद् सुदन किराँतीले सुनसरीको धरानमा बनाइएको आफ्नो सालिक कसैले नदेख्ने र नभेट्ने गरी गाडिदिन आग्रह गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका किराँतीले बुधबार बिहान सामाजिक सञ्जालमा घुमाउरो स्टाटस लेख्दै धरानमा निर्माण गरिएको आफ्नो सालिक कसैले नदेख्ने र कसैले कहिल्यै नभेट्ने गरि गाडिदिन स्थानीय सरकारसँग माग गरेका हुन्।
"धरानमा मेरो सालिक बनाइदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु," फेसबुकमा उनले लेखेका छन्।
उनले आफ्नो पोस्टमा स्पष्ट पारेका छन् कि उनलाई सालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन। "साँच्चै भन्नुपर्दा मान्छेको सालिक बनाउने र सालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्ततः म विरोधी हुँ," उनले लेखेका छन्।
किराँतीले आत्मालोचना गर्दै भनेका छन्, "फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छु र?"
उनले स्थानीय सरकार धरानसँग सो सालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्नेगरि लगेर गाडिदिन माग गरेका छन्।
किराँतीले आफ्नो पोस्टको अन्त्यमा सामाजिक सञ्जालको प्रयोगबारे पनि टिप्पणी गरेका छन्। "कुनैपनि विषयमाथि प्रतिकृया हेर्दा महसुस भयो कि, शब्दहरुले आफैँ आत्महत्या गरिरहेको छ," उनले लेखेका छन्।
उनले सामाजिक सञ्जालमा विचार व्यक्त गर्दा स्वभाविक रुपमा दुनियाँसामु आफ्नो योग्यताको पनि मापन भइरहेको भन्दै सभ्य र स्तरीय टिप्पणी गर्न टिप्पणीकर्ताहरुलाई विनम्रताको साथ सुझाव दिएका छन्।
यो घटनाले नेपालमा व्यक्तित्वको सालिक निर्माणको संस्कृति र राजनीतिक व्यक्तित्वहरूको यसप्रतिको दृष्टिकोणलाई उजागर गरेको छ।