गैर आवासीय नेपाली संघको काठमाडौंमा हुने नयाँ नेतृत्वको निर्वाचनका क्रममा उपाध्यक्ष कुमार पन्त अध्यक्ष पदमा चुनावमा जाने भएका छन् ।
उनले काठमाडौंमा हुने विश्व सम्मेलनका क्रममा अध्यक्षमा उठ्ने एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी,, नागरिकता र मतदानको अधिकार, दीगो संगठन र एनआरएनएमा व्यापक सहभागीता गराउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनले जानकारी दिए । अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्ने अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने, ब्रिटिस भुपू गोर्खाको माग सम्बोधन गर्न पहल गर्नेलगायतका प्रतिबद्धतापत्र पनि उनले सार्वजनिक गरेका छन् ।
एनआरएन नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने, भिजन २०२०को एजेन्डालाई अघि बढाउनका लागि आफूले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको उनले जनाएका छन् ।
एनआरएन नवौं सम्मेलनका क्रममा अध्यक्षमा उठ्ने तयारी भएको जनाएका उनी जर्मनीमा बस्ने नेपाली व्यावसायी हुन् ।
पन्त एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का उपाध्यक्ष हुन् । उपाध्यक्षमा यो उनको दोस्रो कार्यकाल हो । उनको जर्मनी लगायत युरोपका विभिन्न देशमा होटलहरुमा लगानी छ । नेपालमा जलविद्युत परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योग लगायतमा उनले लगानी गरेका छन् ।
सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रका संयोजक भए । सन् २००९–२०११ मा अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी सम्हालेका थिए । सन् २०१३–२०१५ मा महासचिव भएका उनी त्यसयता भने उपाध्यक्षको जिम्मेवारीमा छन् ।