काठमाडौँ, १४ पुस । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले आज एक समारोहबीच सातौँ वर्षगाँठ मनाएको छ ।
दोस्रो जनआन्दोलनपछि खासगरी मधेसका मुद्दालाई उजागार गर्ने र मधेसी जनताको हक अधिकार स्थापित गर्ने हेतुले तमलोपाको स्थापना भएको थियो ।सो पार्टीद्वारा आज राजधानीमा आयोजित सांस्कृतिक तथा जलपान समारोहमा उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला सहभागी हुनुभयो ।
समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) वरिष्ठ नेता डा बाबुराम भट्टराई, काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, मधेस जनाधिकार फोरम लोकतान्त्रिक (नेपाल) का अध्यक्ष विजयकुमार गच्छदार, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणालगायत पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
सो अवसरमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले रासससँग कुरा गर्दै माओवादीको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, विभिन्न जनजाति आन्दोलनका क्रममा भएका उपलब्धिलाई संविधानसभाले संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्धारित समयमै दिगो संविधान निर्माणका लागि उक्त आन्दोलनका उपलब्धिहरूलाई बिर्सन नहुने बताउनुहुँदै अध्यक्ष ठाकुरले सहमतिमै संविधान जारी हुनुपर्नेमा जोड दिनुभयो । रासस