काठमाडौँ, १९ माघ । संविधानसभा प्रस्ताव निर्माण समितिको आजको बैठकले समितिका सदस्य अग्निप्रसाद खरेलको संयोजकत्वमा नौ सदस्यीय प्रश्नावली निर्माण उपसमिति गठन गरको छ । उपसमितिका सदस्यमा उषा गुरुङ, रमेश लेखक, राधेश्याम अधिकारी, सिपी मैनाली, कृष्णभक्त पोखरेल, श्रीमाया थकाली, अतहर कमाल मुसलमान र कुमार खड्का रहनुभएको छ ।
प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा दलहरूबीच असहमति भएका विषयमा प्रश्नावली तयार गरेर उपसमितिले प्रस्ताव निर्माण समितिमा प्रतिवेदन पेस गर्ने समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति, निक्र्याेल समिति र संविधानसभाको बैठकमा सभासद्हरूले उठाउनुभएको विषयवस्तुलाई सन्दर्भ सामग्री बनाएर उपसमितिले प्रश्नावली तयार गर्नेछ ।
प्रश्नावली तयार गर्न उपसमितिलाई भोलि ३ बजेसम्मको समयसीमा प्रदान गरिएको छ । प्रश्नावली तयार गर्ने क्रममा उपसमितिमा धर्मनिरपेक्षता, समावेशीता र गणतन्त्रको सवालमा फरक मत लेख्न पाउने तर भोटिङ भने नहुने कार्यविधि बनाएको प्रस्ताव निर्माण समितिका सदस्य रामेश्वर फँुयालले जानकारी दिनुभयो ।
प्रस्ताव निर्माण समितिले आफ्नो कार्य सम्पादन गर्ने क्रममा विगतमा भएका ऐतिहासिक सङ्घर्ष र जनआन्दोलनका भावना र सोबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न सबै राजनीतिक दलहरूको सहमतिमा संविधानसभाको पहिलो बैठकबाट पारित भएका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी असहमतिका विषयमा सैद्धान्तिक प्रश्नावलीसहितको प्रस्ताव तयार गर्ने गरी कार्यविधि तयार गरेको छ ।
संविधानसभामा संविधान निर्माणसम्बन्धी निर्माण प्रक्रियालाई सहज बनाउन असहमति रहेका संविधानका अन्तरवस्तुमा प्रश्नसहितको प्रस्ताव तयार गर्न संविधानसभाले प्रस्ताव समिति गठन गरेको थियो । रासस