प्रम र अध्यक्ष दाहालबीच प्रणय दिवसको वार्ताले देला त प्रेमरूपी संविधान ?

राजनीति

काठमाडौँ, २ फागुन । संसारभर युवा पुस्ताले प्रणय दिवस मनाउने तरखर गरिरहेका दिन (फेबु्रअरी १४) को एक बिहानै प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको राजनीति सङ्ल्याउन प्रेमपूर्ण वार्ता भएको छ ।

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’का दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक महिनादेखि बोलचाल बन्द र एक अर्कालाई खुइल्याउनेसम्मका व्यवहारमा उत्रिएका सत्तापक्ष तथा प्रतिपक्षका शीर्ष नेताबीच भएको भेटवार्ताले सहमतिका आधारमा संविधान जारी गर्न प्रेरणा दिने विश्वास गरिएको छ ।

प्रेम, सद्भाव र मेलमिलापका रूपमा मनाइने प्रणय दिवसमा युवाले युवतीलाई तथा युवतीले युवालाई खासगरी प्रेमको प्रतीकको रूपमा रहेको रातो गुलाफ प्रदान गरेर माया साटासाट गरिन्छ भने आज भएको शीर्ष तहको भेटवार्तामा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउने सन्दर्भमा उथलपुथल हुन पुगेको राजनीतिलाई मत्थर गर्नमा विचारको साटासाट भएको अनुमान गरिएको छ ।

युवा पुस्तामा विशेषगरी लोकप्रिय मानिएको प्रणय दिवसलाई प्रेम साटासाट गर्ने र प्रेम प्रस्ताव गर्ने दिनका रूपमा लिने गरिन्छ ।

सोही दिन अर्थात् आज राजनीतिक तिक्ततामा रहेका दुई प्रमुख दलका शीर्ष नेताको भेटवार्ताले मुलुकको राजनीतिक वातावरण प्रेममय बन्ने विश्वास बढेको छ ।

उमेरका हिसाबले पनि सात दशकको हाराहारीमा रहनुभएका प्रधानमन्त्री कोइराला र छ दशकको उमेरमा रहनुभएका एमाओवादी अध्यक्ष दाहालबीच देखिएको संवादरूपी आकर्षणले संविधानरूपी प्रेमको अङ्कुरण हुन्छ कि भन्ने आशा पनि पलाएको छ ।

गत माघ ११ गते प्रस्ताव समिति गठन गरेलगत्तै सत्तापक्ष र विपक्षबीच देखिएको विछोडरूपी तिक्ततालाई संवादरूपी प्रणयले अगाडि बढाउला वा नबढाउला भन्ने कुराको भेउ भने आगामी दिनमा नै पाइएला तर दलहरूबीच रहेको संवादहीनतालाई भने अन्त्य गरिदिएको छ । खासगरी विवाह नभएका र प्रेममा रहेकाले प्रणय दिवसको दिनलाई महत्वपूर्ण अवसरको रूपमा सदुपयोग गर्ने गर्दछन् भने हाम्रोमा राजनीतिक नेतृत्वलाई परिपक्व तुल्याउन यस दिवसले प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ ।

सत्तापक्ष बहुमतको आधारमा अगाडि बढ्न खोज्ने र प्रतिपक्ष आन्दोलन गर्ने भन्दै आ–आफ्नो बाटोमा लागिरहेको, विवाद, तिक्तता र अविश्वास बढिरहेका बेला भएको पछिल्लो संवाद मिलापको आधार बन्न सक्नेछ । प्रणय दिवसको दिन संवादहीनतालाई अन्त्य गर्ने प्रयास सुरु भएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले भने सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।

‘‘मुलकका जिम्मेवार दुवै शीर्ष नेताले प्रणय दिवसको दिनको महत्वलाई स्वीकार गरेर संवाद थाल्नुभएको छ, लोकतान्त्रिक शासन व्यवस्थामा वार्ता र छलफलबाटै यथोचित सहमति निकाल्न सकिन्छ भन्ने मर्मलाई दुवै पक्षले बुझ्न जरुरी छ,’’ नेपाल सद्भावना पार्टी
(आनन्दीदेवी) की नेत्री सरिता गिरीले भन्नुभयो ।

मुलुकको भूराजनीतिक, भौगोलिक अवस्था, सामाजिक, आर्थिक अवस्थाले राजनीतिक गतिरोधलाई सुल्झाउन सहमतिको विकल्प नरहेको उल्लेख गर्दै उहाँले अहिलेको परिस्थिति निम्त्याउनुमा दुई वामपन्थी दल नेकपा (एमाले) र एमाओवादीबीचको द्वन्द्व भएकाले यसमा नेपाली काँग्रेसको भूमिकाको परीक्षण भइरहेको तर्क प्रस्तुत गर्नुभयो ।

उता नेकपा–माओवादीका नेत्री अमृता थापामगरले यही संविधानसभाबाट जनताले चाहेअनुरूपको संविधान आउने सम्भावना आफूले नदेखेको तथा संविधान केकालागि आवश्यक छ भन्ने जमात संविधानसभाभन्दा बाहिर रहेकाले यसलाई पुष्टि गर्ने धारणा राख्नुभयो ।

दश वर्षे जनयुद्ध, संविधानसभा पक्षधर र जनआन्दोलनकारी पक्षधरबीच छलफलद्वारा सहमति कायम गर्न आवश्यक रहेको बताउँदै उहाँले एमाओवादीले समेत विगतका धेरै मुद्दाहरू छाडिसकेकाले कोही व्यक्ति विशेषले भेटवार्ता गर्दैमा राजनीतिक समस्या समाधान भइहाल्छ र आन्दोलन रोकिइहाल्छ भन्ने नभएको तर्क गर्नुभयो ।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको सहमतिलाई संविधानमा सम्बोधन गर्ने, सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई टुङ्गो लगाउने र बहुमतका आधारमा संविधान जारी गर्ने प्रक्रियालाई रोक्ने सुनिश्चिततासहित सत्तापक्षबाट सार्वजनिक आह्वान भएमा दलहरूबीच विश्वास र सहमतिको वातावरण बन्ने प्रतिक्रिया दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हाम्रा लागि मात्र सहमति हुनुपर्छ भन्ने एमाओवादीसहितका दलहरूको भनाइ लोकतन्त्र विपरीत भएको प्रतिक्रिया दिनुभयो ।

संविधानसभामा सबैको सहमति सम्भव नभएकाले ढिलो चाँडो प्रक्रियाबाट नै संविधानका अन्तरवस्तुमा रहेका विवादित विषय टुङ्ग्याउनुपर्ने भएकाले त्यसमार्गमा प्रक्रिया अगाडि बढिसकेकाले अनन्तकालसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाइ राख्ने सहमतिको रटानको अर्थ नभएको उहाँको भनाइ छ ।

एमाओवादीका नेता खिमलाल देवकोटाले संयोग प्रेम र मेलमिलापको दिन प¥यो, राजनीतिक घटना प्रक्रियाको विकासले पनि मेलमिलापको विकल्प छैन भन्ने देखाएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो ‘‘नेताहरूमा इच्छाशक्तिको खाँचो छ, त्यो कमी रहेको इच्छाशक्तिको पूर्ति प्रणय दिवसको दिनले ग¥यो र अब सकारात्मक ढङ्गले मुलुकलाई निकास दिनुपर्छ भन्ने निष्कर्षमा नेताहरू पुग्न सके भने सहमति, सहकार्य र मेलमिलापको नयाँ संविधान धेरै टाढा छैन ।’’

पे्रम र राजनीतिमा सबै कुरा जायज हुन्छ भने जस्तै प्रक्रिया र आन्दोलनको फरक–फरक ध्रुवमा रहेका दलका शीर्ष नेताको पछिल्लो संवादले मुलुकमा जारी राजनीतिक गत्यावरोध अन्त्य हुने विश्वास गर्न सकिन्छ । रासस

Post Comment