काठमाडौँ, साउन ३१ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले काभ्रेपलाञ्चोकको बिर्ता देउरालीस्थित खहरेखोलामा आज अपराह्न भएको बस दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको प्रभावकारी उपचार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उपराष्ट्रपति पुनले आजै बैतडीमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनाका साथै काभ्रे दुर्घटनाको छानबिन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।