काठमाण्डौं । गत ४ फागुनको बिहान प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता र ती दल सम्वद्ध विद्यार्थी संगठनका अध्यक्षहरुको प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त बैठक थियो ।
बैठकको संयोजन गरेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले । बिहान ८ः३० बजेका लागि बैठक बोलाइएको थियो । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, शेरबहादुर, गोविन्द घिमिरे र नेविसंघ अध्यक्ष नैनसिंह महर, माओवादी केन्द्रबाट पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री, वर्षमान पुन, हितमान शाक्य, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने थिए ।
एमालेबाट भने विद्यार्थी इन्चार्ज रवीन्द्र अधिकारी र अखिल अध्यक्ष नवीना लामा मात्रै बालुवाटार पुगे । यस्तै त्रिभुवन विश्वविद्यालयमा उपकुलपति तीथ्र खनियाँ, रेक्टर सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेती थिए । बोलाइएका सबै बालुवाटारमा जम्मा भए । तर, एमाले अध्यक्ष केपी ओलीको पत्तो थिएन । ओलीलेढिला गरेपछि काँग्रेस सभापति देउवा ‘अरु नै कार्यक्रममा जानुपर्ने, ढिला भयो’ भनिरहेका थिए । आँखा बारम्बार घडीतिर पु¥याएरहेका थिए । एमाले युवा नेता अधिकारीले देउवा रिसाएको बुझेपछि उनलाई शान्त पार्न ‘प्रायःजसो कार्यक्रमा अध्यक्षज्यूको अली ढिलै पुग्ने बानी छ ।’ ओलीका सहयोगीलाई प्रधानमन्त्री पुत्र एवं स्वकीय सचिव प्रकाश दाहालले फोन गरिरहेका थिए ।
‘बालकोटबाट हिंकिसक्नुभयो रे, अब १० मिनेटजतिमा आइपुग्ने कुरा छ ।’ प्रकाशले यस्तो भनेको आधा घण्टापछि अर्थात निर्धारित समयभन्दा ४५ मिनेटपछि सवा नौ बजेतिर ओली बैठक पक्षमा प्रवेश गरे । कालो ओभरकोट लगाएका ओली ढोकैमा उभिएर मुसुक्क हाँसे । सबैलाई नमस्कार गरे । ओलीको सम्मानमा सबै उठे । तर, प्रधानमन्त्री र काँग्रेस सभापति देउवा उठेनन् । प्रचण्डको देब्रेतिरको कुर्सीमा बस्नुअघि ओलीले भने, ‘आउन ढिला भयो, मेरो रेकर्डैै खराब भयो ।’ ओलीको बोली भूइँमै खस्न नपाउँदै प्रचण्ड प्वाक्क बोले, ‘तपाईंको रेकर्ड कहिले राम्रो छ र ?’ ओली फिस्स हाँसे र भने, ‘मौका पाएपछि भित्तैमा पु¥याउने बानी छ साथीभाइहरुको, ठीकै छ ।’
केही समयको रमाइलोपछि स्ववियु निर्वाचनबारे छलफल सुरु भयो । निर्वाचनमा विद्यार्थी संगठनहरुबीच हुन सक्ने सम्भावित झडप, विप्लव माओवादीका विद्यार्थीबाट हुन सक्ने अवरोधलगायत विषयमा छलफल चल्दै थियो । अरुले सुरक्षाबारे चिन्ता गरेपछि ओली बोले । उनले केही समयअघि पोखराको पृथ्वीनारायण क्याम्पसमा एमाले समर्थित अनेरास्ववियुको दुई समूहबीच भएको झडपलाई रमाइलो पाराले प्रस्तुत गरे ।
‘युवाहरुको रगत तातो हुन्छ, फरक संगठनको बीचमा अलिअली यसोउसो हुनु ठूलो कुरा होइन । अस्ति हाम्रै पार्टीका विद्यार्थीहरुको दुईवटा समूहले ‘हात आदान/प्रदान गरेर भावना साटासाट गरेछन् ।’ ओली हाँसेनन्, बाँकी सबै गलल्ल हाँसे ।
खास गरी बैठकमा त्रिविका पदाधिकारीले विप्लव माओवादीका विद्यार्थीले सबै क्याम्पसमा तालाबन्दी गरेको र उनीहरुसँग डराएर क्याम्पस प्रमुखहरुले निर्वाचन गराउनै नसक्ने बताउने गरेको सुनाए । उनीहरुको कुराले ओलीको रिसको पारो छुटेछ । ओलीले भने, ‘ए क्याम्पस प्रमुखहरुले जिम्मेवारी पूरा गर्न सक्दैनन् रे, त्यसो भए यसो गरौं, उनीहरुलाई त्यहाँबाट हटाएर हुलाकतिर पठाइदिऔं, आजभोलि हुलाकमा केही काम हुँदैन, जागिर खान्छन्, बस्छन् ।’