काठमाडौं । सरकारले आजपनि निर्वाचनको घोषणा गर्न सकेन् ।
आइतबार (हिजो) कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार आज स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तय भएको थियो । तर, आज विहान बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति घोषणा गरेन् ।
यद्यपी बैठकमा चुनावको मितिबारे छलफल भएको तर मिति कहिलेका लागि तोक्ने भन्ने निष्कर्षमा पुग्न नसकिएको एक मन्त्रीले बताए ।
स्रोतका अनुसार आइतबार राति मधेसी मोर्चाका नेतासँग बालुवाटारमा तीन घण्टा वार्ता गरेका प्रधानमन्त्री प्रचण्ड मोर्चाका नेताहरुको चेतावनीपछि झस्किएका थिए । चुनावको मिति घोषणा गरेलगत्तै संविधान संशोधन प्रक्रिया अगाडि बढाउँछु भनेर फकाउने प्रयास गरेपनि मोर्चाका नेताहरुले पहिला संशोधन अनि निर्वाचन भन्दै आफ्नो अडान दोहोर्याउँदै चुनाव घोषणा गरे नराम्रो हुने चेतावनी दिएपछि प्रधानमन्त्री दोधारमा परेका हुन् । यसबारे आज दिउँसो कांग्रेस र मोर्चासँग फेरि एकपटक वार्ता गर्ने र त्यसपछि मात्रै मिति तोक्ने योजनाअनुसार आज विहानको क्याविनेटले मिति घोषणा नगरेको स्रोतको भनाई छ ।
वनमन्त्री शंकर भण्डारीका अनुसार निर्वाचनको मिति घोषणा आजै अपराह्न क्याविनेटको अर्काे बैठक बस्दैछ । चुनावको मितिबारे बैठकमा व्यापक छलफल भएको तर कुन मितिमा गर्ने भन्ने टुंगो नलागेपछि थप परामर्श गरी आज बेलुकी बस्ने मन्त्रिपरिषद्को अर्काे बैठकले मिति घोषणा गर्ने उनले बताए ।
सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीका अनुसार आज विहानको मन्त्रिपरिषदले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई एक हप्ताभित्र टुङ्गाउने निर्णय गरेको छ ।
त्यस्तै फागुन १० गतेबाट सुरु हुने संसदबाट संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय समेत गरेको छ ।
बैठकले मधेशी, थारु, आदिबासी, महिलाहरुका माग सम्बोधन गर्न संघीय आयोगलाई थप सक्रिय पार्ने निर्णय पनि गरेको छ ।