तराईमा कसैले अवरोध गरे प्रतिकार गर्ने ओलिको चेतावनी

तराईमा कसैले अवरोध गरे प्रतिकार गर्ने ओलिको चेतावनी
राजनीति

काठमाण्डौं ।आगामी फागुन २१ देखि चैत चारसम्म मेची(महाकाली अभियानको तयारीमा रहेको प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पूर्वनिर्धाति कार्यक्रममा अवरोध नगर्न अन्य राजनीतिक दल र उनका कार्यकर्तालाई आग्रह गरेको छ ।

अभियानको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले आफूहरुको अभियान राष्ट्रिय एकताका बारेमा प्रष्ट पार्ने र यो कसैका बिरुद्ध नहुने बताए । उनले भने, ‘यसले एमालेबिरुद्ध छरिएको भ्रम पनि चिर्नेछ ।’
अध्यक्ष ओलीले अभियान कसैको बिरोध र भण्डाफोरको लागि नभएकाले अवरोध नगर्न अन्य पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । तर यसमा अवरोध तथा भाँजो हालिए एमालेले त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने पनि ओलीले प्रष्ट पारे ।
मेची-महाकाली अभियानको लागि एमालेले नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय परिचालन समिति गठन गरेको छ । अभियान झापाबाट २१ गते सुरु भइ चैत ४ गते कञ्चनपुरमा पुगेर सकिनेछ ।
यसबीचमा हुने बिभिन्न औपचारिक कार्यक्रम तथा सभाहरुमा एमालेका उपलब्ध नेताहरुले सम्बोधन गर्ने बताइएको छ । अभियानका सबै कार्यक्रमहरु पूर्व-पश्चिम राजमार्ग केन्द्रित हुनेछन् ।
एमालेले मेची-महाकाली अभियानमा अनिवार्य उपस्थितिका लागि कार्यकर्तालाई हृवीप नै जारी गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘अभियान सुरु हुन १० दिन बाँकी छ, हरेक नगरदेखि वडा र गाउँस्तरसम्म जो जहाँ छन्, हरेक एमाले कार्यकर्ता सडकमा उत्रिएकै हुनुपर्छ । एउटै स्वरमा नारा लगाएकै हुनुपर्छ ।’
उनले थपे, ‘यदि राजमार्गमा आउन सम्भव नभए गाउँस्तरमा भएपनि अभियानबारे स्थानीयलाई स्पष्ट पार्नुपर्ने छ ।’
अध्यक्ष ओलीले हृवीप नटेर्ने कार्यकर्ता एमालेका लागि औचित्यहीन रहेको समेत बताए ।

Post Comment