‘एमालेले जनताको आदेश मात्रै मान्छ’:-अध्यक्ष ओली

‘एमालेले जनताको आदेश मात्रै मान्छ’:-अध्यक्ष ओली
राजनीति

झापा । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र र राष्ट्रियता विरुद्ध कसैले आदेश दिन्छ भने त्यसलाई एमालेले नमान्ने बताएका छन् ।

झापाको काँकडभिट्टामा शनिबार ‘मेची–महाकाली’ अभियानको उदघाटन गर्दै ओलीले एमालेले जनता बाहेक अरु कसैको आदेश नमान्ने बताए । ‘एमालेले जनताको आदेश मात्रै मान्छ’, उनले भने, ‘एमालेले कसैको आदेश मान्दैन ।’ उनले भने, ‘संविधान मान्छ, कानून मान्छ, संविधान कानूनभन्दा बाहिरका कसैका फूर्ति मान्दैन ।’

उनले राष्ट्रको एकता र समृद्धिको संकल्प गर्ने भन्दै राष्ट्रियतालाई कमजोर बनाउने कुनै प्रयासलाई नमान्ने र असफल बनाइदिने बताए ।

‘संविधान संशोधन संविधान विपरित छ । जनभावना विपरित छ । देशको हित विपरित छ’, ओलीले भने, ‘यस्तो प्रस्ताव नैतिक हिसावले संसदले र जनताले पास गर्न सक्दैनन् ।’

उनले लोकतन्त्र संस्थागत गर्ने तथा जनतालाई अधिकारसम्पन्न बनाउने र देशलाई समृद्ध बनाउने अभियानमा सबै नेपाली जनता लाग्नुपर्ने बताए । ‘एमालेसँग देश बनाउने अभिभारा छ । यो महाअभियान हो । एमाले बाहेक अरु कसैले चलाउन सक्दैनन्’, ओलीले दाबी गरे ।

४४ वर्षअघि झापा आन्दोलनले सुरु गरेको अभियानलाई यहाँसम्म ल्याइपुगाएको बताएका उनले भने, ‘वैचारिक स्पष्टताका साथ हामीले नेतृत्व गरेका छौं । संविधान बनाउने बेला एमालेले अगुवाई नगरेको भए संविधान बन्ने थिएन ।’

उनले संविधानले जनताका अधिकारलाई संस्थागत गरेको बताए । ‘त्यसलाई कार्यान्वयन गर्नु पर्नेछ । संविधान जारी गर्न नदिने प्रयास थियो’, उनले भने, ‘हामीले पराजित गर्यौं । अहिले कार्यान्वयन गर्न नदिने प्रयास भएको छ ।’

उनले ने, ‘हाम्रो राष्ट्रको हित, भौगोलिक अखण्डता, समृद्धिको यात्रा यसको नेतृत्व एमालेले गरेको छ । यहाँको विविधतालाई दुरुपयोग गर्ने प्रयास अर्कोथरीले गरेका छन् । चुनाव हुन नदिने, संविधान कार्यान्वयन हुन नदिने, लोकतन्त्रलाई संस्थागत हुन नदिने प्रयास अर्काथरीले गरेका छन् ।’

उनले केही समूह हिंसा भड्काउन खोजिरहेको आरोप पनि लगाए । ‘हामी कसैको अधिकार खोस्ने, कसैको कार्यक्रम बिथोल्ने भन्दैनौं’, एमाले अध्यक्ष ओलीले भने, ‘देशको स्वाभीमानका विरुद्धमा कसैले गतिविधि गर्छ भने त्यसलाई मञ्जुर गर्दैनौं ।’

Post Comment