‘सरकार अब पछि हट्दैन्, चुनाव हुन्छ, हुन्छ ’:-माओवादी केन्द्र नेता वर्षमान पुन

‘सरकार अब पछि हट्दैन्, चुनाव हुन्छ, हुन्छ ’:-माओवादी केन्द्र नेता वर्षमान पुन
राजनीति

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले कुनै दलले भाग नलिएपनि स्थानीय तहको निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले भने, ‘निर्वाचनको प्रक्रिया धेरै अघि बढिसक्यो, अब निर्वाचन हुँदैन कि भनेर कसैले पनि शंका गर्नुहुँदैन, अब रोकिने र नहुने भन्ने हुँदैन्, कारणवश कुनै दल छुटेपछि उनीहरुलाई क्षतिपूर्तिसहित प्रदेश र संघीय निर्वाचनमा समेटिने छ ।’

संविधान कार्यान्वयनको लागि पनि निर्वाचन आवश्यक रहेको बताउँदै भने, ‘यो सरकारको पहिलो प्राथमिकता भनेको नै संविधान कार्यान्वयन गर्ने हो, त्यसको लागि ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्छ, यसको लागि सरकार अघि बढिसकेको छ ।’

उनले मधेशी मोर्चा लगायतका असन्तुष्ट पक्षहरुको माँग सम्बोधन गर्न संविधान संशोधन गर्ने र निर्वाचनको प्रक्रियापनि सँगसँगै अघि बढाउने सरकारको तयारी रहेको जनाए । उनले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने समेत विश्वास दिलाए ।

नेता पुनले भने, ‘५० जिल्लाको मतपत्र छपाईको काम सम्पन्न भैसकेको छ, ७५ हजार म्यादी प्रहरी भर्ना भैसकेका छन्, प्रशासनिक एव्म सूरक्षा तयारी भैरहेको छ ।’ स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नसर्ने जिकिर गर्दै पुनले भने, ‘सरकार अब पछि हट्दैन्, चुनाव हुन्छ, हुन्छ ।’

पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन जानु अघि नै असन्तुष्ट मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एक किसिमको अनौपचारिक समझदारी बनिसकेको समेत दाबी गरे । उनले सीमांकनबाहेकका विषयहरुलाई चुनाव अघि नै संशोधन गरेर मोर्चालाई पनि चुनावमा लिएर जाने सरकारको तयारी रहेको र यसमा मोर्चा सकारात्मक देखिएको विश्वास दिलाए ।

उनले मधेशी मोर्चालेपनि भित्रभित्रै चुनावको तयारी गरिरहेको दाबी गरे । पुनले थपे, ‘मधेशी मोर्चालेपनि भित्रभित्रै चुनावको तयारी गरिरहेको छ, आफ्नो प्रभाव रहेको जिल्लामा कहीँपनि दल दर्ता गराउन छुटाएको छैन, बरु काँग्रेसको केही ठाउँमा छुटेको छ ।’

त्यस्तै उनले पछिल्ला समय मधेशी मोर्चामा आवद्ध दलहरुवीच एकता हुने कुरा आउनुपनि चुनावको तयारीको लागि हो भन्ने कुरा प्रष्ट हुने जनाए । पुनले भने, ‘बाबुराम भट्टराईजीको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवजीको संघीय समाजवादी फोरम नेपालवीचपनि एकता हुँदैछ, यो राम्रो हो, विरगञ्जमा हालै व्यापारीहरु फोरममा प्रवेश गरेका छन्, उनीहरु आन्दोलन गर्नको लागि त पार्टी प्रवेश गरेका होइन नि, यो पनि चुनावको तयारी नै हो।’ उनले पार्टीहरुवीच एकता हुनु मुलुकको लागि पनि राम्रो हुने स्पष्ट पारे ।

त्यस्तै उनले २ नम्बर प्रदेशमा पनि चुनाव हुनेमा आफू विश्वस्त रहेको बताए । उनले २ नम्बर प्रदेशका युवाहरु नै सबैभन्दा ठूलो संख्यामा म्यादी प्रहरीमा भर्ना भएको जानकारी दिए । पुनले भने,‘२ नम्बर प्रदेशका युवाहरु म्यादी प्रहरीमा भर्ना भैसके, अब त्यहाँ ढुँगामुढा हान्ने मान्छे छैनन्, चुनाव हुन्छ ।’

स्थानीय तहका नेता तथा कार्यकर्ताहरु चुनावको तयारीमा जुटिसकेकोले नेतृत्वलाईपनि चुनावमा भाग लिन बाध्य पार्ने उनको दाबी थियो । उनले भने, ‘जनतामा जाने कुरालाई कसैलेपनि नकार्न सक्दैन्, यो त प्रतिष्पर्धा हो नि, युवाहरु प्रतिष्पर्धाको लागि तयारी अवस्थामा छन् ।’

तपाईको पार्टीलेपनि अरु पार्टीसँग सहकार्य गरेर चुनाव लड्ने तयारी गरेको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘निर्वाचन परिचालसम्बन्धी निर्देशिक सबैभन्दा पहिले हाम्रो पार्टीले जारी गरेको छ, हामीले सबै वडा, कमिटीहरुमा नेतृत्व चयन गरिसकेका छौं, एमाले लगायतका अन्य दलले बाहिर हल्ला गरेपनि चुनावको भित्री तयारीमा हाम्रो पार्टी अघि छ ।’

उनले आफ्नो पार्टीले एक्लै कोशिसका आधारमा चुनाव लड्ने तयारी गरेको भएपनि तालमेलको संभावना रहेको ठाउँमा आवश्यक परे अरु पार्टीसँगपनि तालमेल गर्ने जनाए ।

फरक प्रसँगमा उनले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दूराष्ट्र र राजतन्त्र हटाईदिएकोमा यसले राप्रपालाई नै फाइदा पुगेको तर्क गरे । उनले भने, ‘निर्वाचन आयोगको निर्णयले राप्रपालाइ त फाईदा नै पुगेको छ, चर्चामा आयो, जनतामा जानको लागि चर्चा चाहिन्थ्यो, तर निर्वाचन आयोगले नै एकैचोटि चर्चामा ल्याउने काम गर्यो ।’

मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जन नगरी जबरस्ती चुनाव गराए चुनाव पूर्वराजा ज्ञानेन्द्र शाहले गराएकोजस्तै बन्ने भनेर आरोप लगाएका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरुलाई चुनावमा ल्याउनको लागि सरकारले लाख कोशिश गरिरहेको छ, उहाँहरु आउनुभएन भनेपनि छुटेका साथीहरुलाई वैकल्पिक व्यवस्था गरिनेछ, तर यो चुनावमा सरकार अघि बढ्छ ।’

उनले अहिलेको सरकारले सबैको कुरा सुन्ने भएकोले ज्ञानेन्द्रले गराएको चुनावसँग तुलना गर्न नहुने स्पष्ट पारे । उनले स्थानीय तहको निर्वाचनमा भाग नलिने र छुटेकाहरुलाई प्रदेश र केन्द्रको चुनावमा क्षतिपूर्तिसहित ल्याउने विश्वास दिलाए

Post Comment