माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीले जेठको पहिलो हप्ता भित्रमा नेपाली काँग्रेसलाई सत्ता हस्तान्त्रण गर्ने बताएका छन् ।
शुक्रबार नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै पुनले वैशाख ३१ गते स्थानीय तहको चुनाव लगत्तै पूर्वसहमति अनुसार सत्ता काँग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्त्रण गर्ने बताएका हुन् ।
उनले यसअघि आफ्नो पार्टीको नेतृत्वको सरकार गठनका क्रममा भएको सहमति अनुसार दायाँबायाँ नगरी देउवालाई सत्ता सुम्पने बताए । उनले जेठ पहिलो साताभित्रै काँग्रेस सभापति देउवा प्रधानमन्त्री हुने र देउवा नेतृत्वको सरकारले प्रदेश र केन्द्रको चुनाव सम्पन्न गराउने जानकारी समेत दिए ।
काँग्रेस र माओवादी केन्द्रबीच दाहाल प्रधानमन्त्री हुँदा चैत मसान्तसम्म स्थानीय तहको चुनाव सम्पन्न गरी प्रधानमन्त्रीमा देउवालाई स्थानान्त्रण गर्ने लिखित सहमति भएको थियो ।