‘एमालेलाई मधेस विरोधी भन्नु गलत’:-उपमहासचिव पौडेल

‘एमालेलाई मधेस विरोधी भन्नु गलत’:-उपमहासचिव पौडेल
राजनीति

एमालेका उपमहासचिव विष्णु पौडेलले तराई मधेसको विकास गर्ने सच्चा पार्टी एमाले भएको दावी गरेका छन् । एमालेलाई मधेस विरोधी भनेर जति प्रचार गरे पनि दोस्रो चरणको निर्वाचनमा मधेसमा पहिलो शक्ति बनेर मधेसी समुदायको सच्चा पार्टी प्रमाणित गरिने उनको दावी छ ।

एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका उनले भने ‘हामी मधेसी जनताको विरोधी होइनौं । एमाले सरकारको पालामा जति तराई मधेसमा बजेट अहिलेसम्म कुनै सरकारले ल्याएको छैन । कसैले आरोप लगाउँदैमा एमालेलाई मधेस विरोधी भन्नु गलत हुन्छ ।’

रुपन्देहीका केही ठाउँहरुमा विगतमा जित हासिल गर्न नसके पनि अबको निर्वाचनमा एमालेको विकास निर्माण नीति, सिद्धान्त र राष्ट्रप्रेमलाई हेरी जनताले अब जिताउने बताए । सिद्धार्थनगरमा एमाले बलियो शक्ति भएकोले स्थानीय निर्वाचनमा विजयी हुने दावी समेत गरे ।

अर्का उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरमा एमाले अन्य पार्टीसँग तालमेल गरेर निर्वाचन लड्ने भनेर भ्रमक हल्ला फैलाइएको दावी गरे । उनले एमाले एक्लै निर्वाचन जित्ने दावी पनि गरे । ‘एमाले मधेसी, पहाडी, मुस्लिम, अल्पसंख्यक, पिछडा सबै जातजाति, धर्म–संस्कृतिको संरक्षण गर्ने पार्टी हो’ भुसालले भने ।

पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले नाकाबन्दीका बेला एमाले नेतृत्वको सरकारले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै त्यसैको प्रतिफल स्वरुप पहिलो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति बनेको बताए । पाँच नम्बर प्रदेश टुक्र्याउनुपर्छ भन्ने शक्तिहरु अहिले जनतालाई भ्रममा पार्न लागिरहेको आरोप लगाए ।

पोलिटब्यूरो सदस्य राधा ज्ञवालीले एमाले पाँच नम्बर प्रदेशमा दुई तिहाई बहुमतका साथ पहिलो शक्ति बन्ने दावी गरिन । सिद्धार्थनगरको प्रमुखमा एमालेबाट हरिप्रसाद अधिकारी र उपप्रमुखमा उमा काफ्लेले उम्मेदवारी दिनेछन् ।

Post Comment