प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावपछि आफू नै प्रधानमन्त्री हुने दावी गर्नुभएको छ । कैलालीको धनगढीमा विहीवार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले ज्योतिषीले आफूलाई सात पटक प्रधानमन्त्री हुने भन्दै भविश्यवाणी गरेको वताउँदै चुनावबाट कांग्रेसले बहुमत ल्याउने र फेरि प्रधानमन्त्री हुने वताउनुभयो ।
‘मलाई ज्योतिषले पनि ७ पटक प्रधानमन्त्री हुन्छस् भन्या छ, कांग्रेसले यो चुनावमा बहुमत ल्याउँछ । चुनावपछि मै प्रधानमन्त्री हुने हो नि’ देउवाको भनाई थियो, ‘यो सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने अर्काे को छ भन्या ?’
प्रधानमन्त्री भएकै बेला दुईपटक प्रजातन्त्र दरवारमा बुझाए पनि देउवाले प्रजातन्त्रको रक्षा गर्न कांग्रेसलाई जिताउनुपर्ने वताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीले जिते अधिनायकवाद आउने पुरानै दावी दोहोर्याउनुभयो ।
उहाँले आफूले चनाव लडेको डंडेलधुरामा आफ्नो जित पक्का भएको पनि दावी गर्नुभयो । वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएका देउवा आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान लिएर अहिलेसम्म जानुभएको छैन । पत्नी आरजु राणा देउवा उम्मेदवार भएको कैलालीको चुनावी अभियानमा देउवा धनगढी आउनुभएको हो ।
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेकी पत्नी आरजु राणाको पक्षमा चुनाव प्रचार गर्न प्रधानमन्त्री देउवा यतिबेला कैलालीमा हुनुहुन्छ ।