कांग्रेस नेता खुमबहादुर खड्काको भारतमा निधन

कांग्रेस नेता खुमबहादुर खड्काको भारतमा निधन
राजनीति

कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको उपचारका क्रममा भारतमा निधन भएको छ ।


नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछि बारम्बर राज्यशक्तिमा प्रभाव जमाउन सफल काँग्रेस केन्द्रीय सदस्य खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।

खड्काको दुवै मृगौला फेल भएपछि दुई वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर, पछिल्लो समय निमोनिया र मृगौलामा थप समस्या देखिएपछि उनलाई उपचारका लागि गत ४ चैतमा दिल्ली लगिएको थियो । खड्का उपरारत अस्पतालले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाए पनि उनको निधन भयो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार खड्काको भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला निधन भएको हो ।

बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा भारत निर्वाशनबाट स्वदेश फर्कंदा खड्का पनि सँगै नेपाल आएका थिए । बीपीसँगको सानिध्यकै कारण उनी लामो समय नेपाली राजनीतिको केन्द्रमा रहे । तर, खड्का पदीय हैसियतको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोपमा जेल बसेपछि भने उनको प्रभाव घटेको ठानिएको थियो । यद्यपि काँग्रेसको १३ महाधिवेशनमा उनी लोकप्रिय मतका साथ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

Post Comment