राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने
राजनीति

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी भइरहेको खुलासा गरेका छन्।

यादवले संविधान संशोधनलगायत समस्या समाधानका सवालमा सरकार आफ्नै प्रतिवद्धताबाट पछि हटेको आरोप लगाए। ‘असोज २१ गते हामी सरकारलाई ज्ञापनपत्र बुझाउँदैछौं,’ पत्रकारहरुसँग कुरा गर्दै नले भने,‘सरकारका लागि आफनो प्रतिवद्धता पूरा गर्ने यो अन्तिम मौका हो।’

समस्या समाधानको आसामा समर्थन दिए पनि त्यस मामिलामा सरकार उदासिन बन्दै गएकाले सोच्नैपर्ने बेला आएको उनले स्पष्ट पारे। ‘प्रधानमन्त्री बन्नुपूर्व केपी शर्मा ओलीले संविधान संशोधन, मधेसको विकासलगायत सबै समस्या समाधान गर्ने आश्वासन दिएका थिए,’ उनले थपे, ‘एकपटक साथ दिनुहोेस् भनेकाले हामीले विश्वास पनि गर्‍यौं। तर, सरकारले धोका दियो।’

ओली नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भएको उनको टिप्पणी छ। विकास निर्माण, शान्तिसुरक्षा र सुशासनका विषयमा जनताले गरेको विश्वास दिनप्रतिदिन स्खलित हुँदैगएको उनले बताए। संविधान संशोधन पनि नगर्ने अनि जनताको विश्वास जित्न पनि नसक्ने आलोचित सरकारलाई समर्थन दिनुको औचित्य सकिएको उनको भनाइ छ।

३३ किलो सुन तस्करीमा पार्टीका प्रभावशाली नेता फस्ने अवस्था आएपछि त्यसको छानविन रोकेको, निर्मला बलत्कार र हत्या प्रकरणमा अपराधीलाई जोगाउन लागि परेको, निजगढ विमानस्थल निर्माणका नाममा चुरेका रुख सरपट कटान गरी मधेसलाई मरुभूमि बनाउने षडयन्त्रमा लागेको भन्दै उनले सरकारको आलोचना गरे।

Post Comment