नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको टिप्पणी गरेका छन् । चियापान कार्यक्रममा लागि विराटनगर पुगेका प्रचण्डले मोदी पटक-पटक नेपाल आइसकेको भन्दै उनी नआउने कुरा ठूलो खबर नभएको बताएका हुन् ।
मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो । तर, अहिले यो भ्रमण अनिश्चित भएको समाचार सार्वजनिक भएका छन् । ‘भारतीय प्रधानमन्त्री मोदी धेरै पटक नेपाल भ्रमणमा आइसक्नु भएको छ’, उनले भने, ‘यो पटक आउनुभएन् भने पनि त्यो कुनै ठूलो खबर होइन ।’
साथै प्रचण्डले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । तिहार लगत्तै केही मन्त्री फेरिने चर्चा चलिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सरकारको कामकारवाहीको गति पनि बढाउने बताए । सरकार गियर फेरेर भए पनि गतिका साथ अगाडि बढ्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिलेको सरकार विकास र समृद्धिको यात्रामा तीव्र गतिका साथ अगाडि बढ्ने बताए ।
नेकपाले विराटनगरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रचण्डसहित महासचिव विष्णु पौडेल लगायतका नेताहरुसहित विराटनगर पुगेका छन् ।