सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो गर्नु भएको छ । उहाँले यो सरकार निरन्तरताको लागि मात्रै नभएको प्रष्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री भएपनि उहाँको टिममा रहेका मन्त्रीहरुमा टिम–स्पिरिट नदेखिएको जिकिर गर्नुभयो ।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता सापकोटाले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको र प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकोले सचिवालय र स्थायी समिति बैठकहरु बस्न नसकेको बताउनु भयो । उहाँले अब बस्ने सचिवालय बैठकमा सरकारको बारेमा पनि समिक्षा हुने जानकारी पनि दिनुभयो । वर्तमान सरकार ईतिहाँसकै शक्तिशाली सरकार भएकाले निरन्तरतामा क्रमभंगता हुनुपर्दथ्यो भन्ने आफूहरुको चाहना रहेको पनि सापकोटाले बताउनु भयो । ‘तरपनि यो सरकार विगतकैजस्तो निरन्तरताको लागि भयो’उहाँले भन्नु भयो –‘जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए । तर, जनताले चाहेजस्तो सरकारले ब्रेक–थ्रु गर्न सकेन् ।’
सरकार रणनीतिक महत्वका काममा पूर्ण सफल भएको उहाँको दावी थियो । यो बीचमा सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाई प्रदान गर्न, द्धिपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन र ल्याण्ड–लक्डबाट ल्याण्ड–लिंकतर्फ मुलुकलाई अघि बढाउनेजस्ता महत्वपूर्ण रणनीतिक महत्वका काम सम्पन्न गरेको भन्दै राम्रा कामको फेहरिस्त सापकोटाले सुनाउनु भयो ।
सापकोटाले जनताले सरकारबाट भाषण नभएर ‘एक्शन’ खोजेकोपनि बताउनुभयो । उहाँले भने,‘जनतालाई सपना देखाउने काम पूरा भैसक्यो, अब ‘एक्शन’ गरेर देखाउनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा सरकारको बिहंगम समीक्षा हुन्छ।’