राजतन्त्र फर्काउन खोज्नेलाई ठीक पार्ने सञ्चारमन्त्रीको चेतावनी

राजतन्त्र फर्काउन खोज्नेलाई ठीक पार्ने सञ्चारमन्त्रीको चेतावनी
राजनीति

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने चेतावनी दिनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्ला सभामा बोल्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सो चेतावनी दिनुभएको हो ।

‘धर्म जस्तो संवेदनशील कुरामा टेकेर नेपालको प्रगतिको बाटोलाई अवरुद्ध पार्ने काम भयो र इतिहासले किनारा लगाएका तत्वहरु फेरि सल्बलाए भने कानुनले ठीक पारिन्छ, सरकार संझौता गर्दैछ,’ मन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए शैह्य नहुने पनि प्रष्ट पार्नुभयो । प्रगति र सुशासनलाई अवरोध पुर्‍याउन धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको भन्दै मन्त्री बाँस्कोटाले आन्दोलनरत राप्रपालाई धर्मको नाममा राजनीतिको रोटी नसेकाउन सुझाव दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आन्दोलन गरिरहेका बेला मन्त्री बास्कोटाले यस्तो सुझाव दिनुभएको हो । उहाँले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न पनि आग्रह गर्नुभयो ।

‘नेपालमा राजतन्त्र फर्किने सपना नदेख्दा हुन्छ, त्यो कहिल्यै पूरा हुँदैन, प्रतिक्रियावादी चलखेलप्रति सरकार सजग छ, जनता सजग छन,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले प्रतिक्रियावादीहरुले चियाको कपमा तुफान ल्याउन खोजेको भन्दै सरकार त्यसमा नअलमलिने प्रष्ट पार्नुभयो ।

Post Comment