झिल्टुङमा कविताको मौलिकताको खोजी

साहित्य

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य लेख्न आधार पाएको भूमि झिल्टुङमा शनिबार काव्य शिविरको चौधौँ शृङ्खला सम्पन्न भएको छ ।

हाल दुईपिपल गाविसमा पर्ने झिल्टुङ देवकोटाको मामाससुराल पनि हो । पहाडी जीवन निबन्धको भावभूमि पनि यही हो । काव्य शिविरमा समसामयिक नेपाली कवितामा मौलिकताको विषयमा अन्तक्र्रियासमेत गरियो । अन्तक्र्रियामा कवि श्रीहरि फुयाँलले कवि स्वयम्ले मौलिकता निर्धारण गर्नुपर्ने धारणा राख्दै पछिल्लो समयमा मौलिकता एकैखाले हुँदै गएको पाइएकाले पृथक शैलीको खोजी गर्न जरुरी रहेको बताउनुभयो ।कवि तथा उपप्राध्यापक आरएम डङ्गोलले विषयवस्तुप्रतिको ग्रहण, उद्देश्य र शैलीबाट कविताको मौलिकता निर्माण हुन्छ भन्नुभयो । कवि चिरिञ्जीवी लामिछानेले मौलिकता राजधानी र मोफसलमा फरक नहुने बताउनुभयो ।

काव्य शिविरमा आबद्ध र बाहिरका कवि प्रोल्लास सिन्धुलीय, राजु स्याङ्तान, चेतनाथ धमला, विष्णु भण्डारी, केदारप्रसाद नेपाल, माधव अटल, केशव अमगाईं, सङ्गीता पनेरु, कला अनुरागी, कपिलदेव खनाल, केवल विनावी, केशव विमल, प्रथा, केशव सिलवाल, नारायण नेपाल, प्रमिला दाहाल, जनक भट्टराई, राजकुमार पुत्ला, हरिध्वज लामिछानेलगायत २२ जनाले आआफ्ना कविता वाचन गर्नुभएको थियो । रासस

Post Comment