काठमाडौँ, पुस २० गते । जलसा नेपालले आयोजना गर्दै आएको श्रृंखलात्मक स्रष्टा सम्मान तथा एकल गजल वाचन कार्यक्रम अन्तरगत आज आठौँ श्रृंंखलामा गजलकार आवाज शर्मालाई प्रस्तुत एवं सम्मान गरेको छ । मार्टिन चौतारी, थापाथलिमा आयोजित उक्त कार्यक्रमको सभापतित्व गजलकार भरत पौडेलले गर्नुभएको थियो भने कार्यक्रमलाई गजलकार तथा कवयत्री दीप्स शाहले प्रस्तुत गर्नुभएको थियो । गजल क्षेत्रमा कलम चलाउँदै आउनुभएका थुप्रै गजल मर्मज्ञहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमलाई गजलकार विपुल सिजापतिले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा अनाम मण्डली संस्थाका सदस्यहरू लगायत हालै अष्टेलियाबाट बिदामा नेपाल आउनुभएका साहित्यकार राजन कार्की पनि उपस्थित हुनुहुन्थ्यो ।
२०२९ सालमा ढिकुरपोखरी कास्कीमा जन्मनु भएका गजलकार शर्माले २०६८ सालमा मोतीराम सेतुराम गजल पुरस्कारका साथै लोकदोहोरी गायन र अनुसन्धानमा दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । उहाँका पलाँस गजल सङ्ग्रह, पोल्यो शीतले झन गजल सङ्ग्रह, परीका कथा गजल सङ्ग्रह, पिपल छायाँले लोकगीत सङ्ग्रह र पर्खी बसौँला लोकगीत सङ्ग्रह प्रकाशित छन् ।
जलसा नेपालले आफ्नो नवौँ श्रृंखलामा गजलकार भरत पौडेललाई प्रस्तुत गर्नेछ ।