सत्यम ब्रुयात प्रियम ब्रुयात

साहित्य

खेल्दाखेल्दै ऊ रोकियो र किल्कारी छाडेर हाँस्यो
उसको अबोध किल्कारीले हृदयमा प्रसन्नता छायो …. कान प्रतिक्षित रहे केही सुन्न
टुटेफुटेको आवाजमा ऊ केही भन्न खोज्दै थियो
आम्… मम् …
मस्तिष्कले भेउ लगायो आमा …. हृदय पुलकित भयो
आमा …. अ ओ म को संयोग ॐ …..ब्रम्हवाणी

शब्द मीठो हुन्छ
शब्दमा अद्भुत सौन्दर्य लुकेको हुन्छ …. अद्भुत मीठास समाहित भएको हुन्छ
मीठास त्यतिबेला सीमाहिन हुन्छ जब बोल्नेले यसमा सन्मान, अपनत्व र मायाको रस घोलिदिन्छन्
शब्दमा निहित तरलताले हृदयलाई लछप्पै भिजाइदिन्छ
कहिलेकाहीँ बिभोरता आँखाबाट छल्किदिन्छन्
कति कोमल छ स्वरलाई शब्दमा बदल्ने जिब्रो
भाव र भावना बाँडने माध्यम भएर होला जिब्रोमा लागेको घाउँ चाँडै निको हुन्छ
जिब्रो धारिलो पनि छ …. भित्र कतै अदृष्य घाउ लगाउन माहिर
र त चाँडै पुरिँदैनन् यसले बनाएको घाउ …. निक्कै समय लाग्छ

रुसोले भने, मानिस स्वतन्त्र जन्मछ ….
म त यहाँ पनि लुप्त दासता देख्छु ….
दासता मनले स्विकार्ने अवस्था हो …. हामी आफ्नो मनको दासताबाट उन्मुक्त छैनौँ
मनको खटनमै व्यवहार गर्दछौँ …. निर्देशक मनकै कुरा मान्दछौँ
मनुष्य व्यवहारको जड त मन नै हो …. मनका पनि अवयवहरु छन्
मनलाई भावना, बिचार र विवेक तीन अवयवले नियन्त्रीत र निर्देशित गरिरहन्छ
भावनाले मनुष्यलाई भीडको अंश बनाइदिन्छ …. या विवेकले उचित ठानेको निश्चित् समूहमा सामेल हुन्छ
भीड अर्थात् विवेक कमजोर भएको अवस्था …. भावनाले जितेको अवस्था
यही विवेक हारेको र भावनाले जितेको अवस्था नेतृत्व गर्नेहरुको लागि मलिलो भूमि बन्दछ
भावनामा बहकिएको विवेकअन्ध भीड अनेकन कृत्य कूकृत्यमा सहभागी बन्छ …. राक्षस बन्छ
अधिकारको लागि सजग भीड कर्तव्यको पाठ बिर्सन्छ …. विवेकलाई कुनामा थन्क्याउँछ
विवेकशील प्राणी कति सजिलै जनावर बन्छ !
याहा सोच्नु होला शब्दको चमत्कार …. म भन्छु शब्दको अफिम

हाय ! जिआर्डिनो ब्रुनो …. तिमीलाई सम्झेर अझै आँखा रसाउँछन् ….
विवेकले देखेकै कुरा बोलेका थियौ …. ज्ञानले अर्जित सत्य नै बोलेका थियौ ….
पृथ्वीले सूर्यलाई घुम्छ भन्दिदैमा तिमीलाई जिउँदै जलाईनु पर्ने थिएन
तिमीले त्यो सत्य ओकल्यौ जुन विवेकहीन जमातलाई सह्य थिएन
त्यो जमात अझै पनि अस्तित्वमा छ जिआर्डिनो …. आत्मरतीका अफिममा झुमेर बसेका छन् ….
तिनीहरूका घरमा ऐना छैनन् …. तिनीहरूको आफ्नै स्वतिर्मित संसार छ ….
जहाँ ती नै ब्रम्ह हुन् …. तिनका सोच नै सत्य हो …. तिनका सोचमा चलायमान ब्रम्हाण्ड नै स्थिति हो ….
विवेक जगाइदिएर या ज्ञानको लौरोले घोचेर तिनका सोचका माकुरीजाला नभत्काइ देओ ….
रम्न देओ अन्धकारमा …. जाग्ने आकाङ्क्षा नभएकालाई किन घच्घचाइ रहनु !
भनिरहनु पर्दैन अपाच्य सत्य
न ब्रुयात सत्यं अप्रियम (अप्रिय लाग्ने सत्य नबोल)
समय मननले यही सिकाएको छ
अस्तु

Post Comment