भकुण्डे (लमजुङ), १९ चैत । लमजुङमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै प्रवेशिका परीक्षामा सामेल भएकी छिन् । लमजुङको राइनस नगरपालिका–२ तार्कुघाटस्थित सुदर्शन प्राथमिक विद्यालयकी अध्यक्ष पवित्रा कुँवर (घिमिरे) विहिबार यो वर्षको एसएलसी परीक्षामा सहभागी भएकी हुन् ।
विसं २०५८ मा पढाइ छाडेर तत्कालीन जनयुद्धमा होमिएकी घिमिरेले बालकल्याण उच्च मावि केन्द्रबाट परीक्षा दिएकी हुन् । उनको प्रवेशपत्रमा (सिम्बोल नं. ०४०७८१० एन) उल्लेख गरिएको छ । जनविकास खुला विद्यालयबाट एसएलसीमा सहभागी पवित्रा तार्कुघाटको वीरभक्ति उमाविको व्यवस्थापन समितिको सदस्य र लालीगुराँस आमा समूहको अध्यक्षसमेत हुन् ।
पढाइ नहुँदा सामाजिक सेवा गर्न पनि गाह्रो परेको भन्दै कुँवरले पढाइ छोडेको १४ वर्षपछि एसएलसी परीक्षामा सामेल भएको बताइन् । दुई सन्तानकी आमा घिमिरेका छोरा वीरभक्ति उमाविमा कक्षा ६ मा अध्ययन गर्छन् भने छोरी ५ कक्षामा अध्ययनरत छिन् ।
लमजुङ जिल्ला कारागारबाट एकजना थुनुवाले परीक्षा दिएका छन् । सुन्दरबजार नगरपालिकाको कुन्छा निवासी विमलराज अधिकारीले कारागारबाट परीक्षा दिएका हुन् । शान्ति उमावि कुन्छामा अध्ययनरत अधिकारी जबर्जस्तीकरणी अभियोगमा जेठ २३ देखि कारागारमा छन् ।
उनको परीक्षा केन्द्र विद्याज्योति उमावि खहरे भए पनि कारागारमा केन्द्र स्थापना गरी परीक्षा दिन लगाइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिनुभयो । यो वर्ष जिल्लाबाट कुल चार हजार ८४ परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने भनिए पनि १२६ विद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।