रुपन्देही । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चुवाको मजगवा भन्ने स्थानमा आज सुरक्षाकर्मी र सीके राउतका समर्थकहरुबीच झडप भएको छ । प्रहरीले झडपमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सीके राउत पक्राउ गरेको विरोधमा मजगवास्थित आदर्श उच्च माविमा आज उनका समर्थकले विरोध कार्यक्रमको आयोजना गरेका थिए ।
प्रहरीले उक्त कार्यक्रम नगर्न अनुरोध गर्दै आज सबै नाकामा सुरक्षा व्यवस्था कडा पारेको थियो । प्रहरीले बिहानै सीमावर्ती नाका पदमहवामा एक जनालाई एकसय बढी लाठी, पर्चा र प्लेकार्डसहित पक्राउ गरेको थियो ।
घटनास्थलमा सदरमुकामबाट १५ किलोमिटर दक्षिण पश्चिममा पर्छ । अहिले घटनास्थल सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
कार्यक्रम स्थलमा आइपुगेका करिब चारसय जनाको समूहले प्रहरीमाथि डुंगामुढा गरेपछि झडप भएको हो । झडपको क्रममा प्रहरीले १५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।