गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका–३ टट्टाकी पुतला बुढामाथि कुटपिट भएको छ । जिल्लाको भेरी–३ स्थित न्यु विजयलक्ष्मी कपडा पसलकी मालिक मायादेवी शाहीले कुटपिट गरेको पीडितको गुनासो छ ।
ठाँटीस्थित शाहीको पसलमा गएर बुढाले गत १५ जेठमा गिट्टी कुटेको पाँच हजार मागेको बताइन् । शाहीले ‘पैसा पछि लैजानू, अहिले छैन’ भनेर बुढालाई जवाफ दिएकी थिइन् । ‘घरमा एक छाक खान पनि अन्न छैन, दुई सय भए पनि दिनु’ भनेर बुढा शाहीको अगाडि रोएकी थिइन् । घरमा खानेकुरा केही नभएपछि उक्त रकम मागेर रोएकी बुढामाथि शाहीले ‘मेरो पसलमा आएर रुने ? अब अशुभ भयो’ भन्दै कपडा नाप्ने मिटरले टाउकोमा हिर्काएकी थिइन् । त्यसपछि बुढा गम्भीर घाइते भएकी थिइन् । बेहोस भई लडेकी बुढालाई स्थानीयले जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि अस्पताल पुर्याएका थिए ।
पुतलाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज पुर्याइएको उनका श्रीमान् मनबहादुर बुढाले बताए । पुतलाले दैनिक गिट्टी कुटेर छोराछोरी पाल्ने गरेकी थिइन् । आर्थिक अवस्था कमजोर रहेका बुढा दम्पतीले काम गरेर दैनिक परिवार पाल्दै आएका छन् । पुतलाको उपचारका लागि अहिले आर्थिक समस्या परेको छ । पुतलाको टाउको, ढाडमा गहिरो चोट लागेको छ । पुतलाका छोराछोरी अहिले छिमेकीको शरणमा छन् ।