हरीको मोस्टवाण्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका–४
भवानीपुरमा प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको संयुक्त टोलीमाथि आक्रमणमा उत्रेपछि उनी प्रहरीको जवाफी कारबाहीमा मारिएका हुन् । प्रहरी कारबाहीमा गम्भीर घाइते भएको पुनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएकामा त्यहीं उनको मृत्यु भएको थियो । प्रहरीसँग जम्काभेट भएपछि गोली प्रहार गरेर भाग्ने क्रममा पुन जवाफी कारबाहीमा मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार पुनसँगै उनका सहयोगी सोमबहादुर आलेको पनि इन्काउण्टरमा ज्यान गएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले लामो समय भारतसहित विभिन्न मुलुकमा लुकेर बस्दै आएको पुन समूह ठूलै आपराधिक घटना गराउन नेपाल आएको सूचनाका आधारमा प्रहरी टोली उनको खोजीमा निस्केको थियो । पुनले गत असोजमा राजधानीको खरिबोटमा ठेकेदार संघका केन्द्रीय अध्यक्ष शरदकुमार गौचन हत्याको जिम्मेवारी लिएका थिए ।
गत वर्ष पुन समूहले नै रुपन्देही देवदहमा युवा संघ रुपन्देहीका अध्यक्ष नेता दुर्गा तिवारीको गोली हानी हत्या गरेको थियो । पुन समूहले नै गत २२ पुसमा देवदहमै युवा संघ कार्यकर्ता वसन्त पौडेलको हत्या गरेको थियो । पुन कुनै बेला एमाले युथ फोर्समा थिए । उनले संगठनको आडमा गुण्डागर्दी, फिरौती र अपहरणजस्ता गतिविधि गरेपछि निस्काशनमा परेका थिए ।