‘भिमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्यूवाने म्वायक सो झायला’—अर्थात ‘भिमसेनको लिंगले मन लोभियो कि ! भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि !’
भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा शनिबार बिहान यो गीत गुञ्जिरहँदा यहाँ भिमसेनको लिङ्ग दर्शन गर्न आउनेको उत्तिकै भीड लागेको थियो । नेवारी भाकाको यो गीत होली पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी गुञ्जिने गर्छ ।
होली पर्वको अवसरमा भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा बसेर भिमसेन गुठीका गायजुहरुले होलीको दिनसम्म यही गीत गाएर होलीको आगमनसँगै बिदाई गर्छन् । सातदिनसम्म भक्तपुरमा चल्ने फागु अर्थात होली पर्व हेर्न र संगीतमा रमाउन स्थानीय सधै जम्मा भएर यसरी नै होलीको परम्परालाई धान्दै आएका छन् ।
फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिंङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरी रहेको घर र पसलहरुमा घुमाउने परम्परा छ । यसरी टोलटोलमा ल्याएपछि भिमसेनको लिङ्गका रुपमा दर्शन गर्ने परम्परा छ ।
घर र पसलमा घुमाएको लिङ्गलाई भक्तजनले स्पर्शगरी ढोग्ने र दान दक्षिणा दिने गर्दछन् । यद्यपी यसवर्ष भने लिङ्गलाई काधमा नबोकी सवारी साधनमा राखेर घुमाएका छन् । यसरी घुमाउँदा वर्षौदेखिको परम्परा लोप हुने र संस्कृतिमा बिकृति आउने भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।
भक्तपुरमा होली पर्व फरक शैलीमा मनाइन्छ । यहाँको भिमसेन गुठीले परम्परादेखि नै होलीलाई यौनपर्वको रुपमा दाँज्दै आएको छ । गुठीले हरेक वर्षझै यसवर्ष पनि फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भिमसेन मन्दिरमा भिमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झूण्ड्याएर यौन समागमको प्रतिबिम्ब चित्रण गरेको छ । यसलाई पूजा एवं दर्शन गर्न स्थानीयहरुको सधै बिहान आउने गर्दछन् ।
संस्कृतिकर्मी ओम धौभडेल भन्नुहुन्छ, ‘फागुनशुक्ल अष्टमीको दिन बिहान काठको लिङलाई भक्तपुरको टोल छिमेक, घर, पसलै पिच्छे घुमाएर पुजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याइन्छ । नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । चिरस्वायगू अथार्त लिंग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा रहेको छ ।’
काठको यो लिङ्गलाई भिमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रौपदीको योनीको रुपमा लिने गरिएको छ । भिमसेन र द्रौपदीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र यौनीको प्रतिकलाई यहाँका बासिन्दाले विकृतिको रुपमा नभई साँस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएको उहाँ बताउनुहुन्छ ।
बजार घुमाएपछि भिमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडा समेत भिमसेन पाटीमा झुण्ड्याउने परम्परा छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ भने यसलाई भिमसेन र द्रौपदीको यौन समागमको रुपमा लिइने संस्कृतिकर्मी धौभडेल बताउनुहुन्छ ।
सांकेतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अथार्त होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने भए पनि बिशेषत भक्तपुरमा भिमसेनसँग सम्बन्धित रहेने गरेको छ । चिर स्वायगू अथार्त लिंग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ ।
‘जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवानको पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता किराफट्ङग्रादेखि पशुपंक्षीमा समेत छ । यौन बिनाको जीवन अधूरो हुन्छ । भिमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ’, स्थानीय ७१ वर्षीय मोहन प्रजापति बताउनुहुन्छ ।
मन्दिरमा झूण्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न, यसको दर्शन गर्न भक्तपुरका मात्र नभई उपत्यका कै व्यापारी, धार्मिक विश्वास राख्ने व्यक्तिहरु आउने भिमसेन गुठीयार बताउँछन् । पुरुष मात्र नभई यसको अवलोकन एवं दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वास कै आधारमा झूण्ड्याएको लिङलाई हल्लाउने गर्दछन् ।
फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ ।
यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जन विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गर्दछ । लिङ्ग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुने गर्दछ ।
भिमसेनको मन्दिरको स्थापना १७ औँ शताब्दीमा राजा जगतप्रकाश मल्ल निर्माण गरेको इतिहासमा उललखे छ । भक्तपुरको मौलिक शैलीको होलीको प्रचलन त्यही समयदेखि भएको अनुमान गरिएको छ ।
मल्लको समयमा नेपाल सम्वत ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुने धौभडेल बताउनुहुन्छ । वसन्त ऋतुको आगामन फागुन महिनादेखि हुने भएको र यो समय यौन उर्जाको समय मानिने भएकोले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको हो ।